नेपालविरूद्ध वेस्ट इन्डिज ‘ए’ ले दियो २२७ रनको विशाल लक्ष्य

काठमाडौं। तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले ओपनिङ ब्याटर जोनसन चार्ल्सले शतकको मद्दतमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन जोड्यो।

आक्रामक ब्याटिङ गरेका चार्ल्सले ६१ बलमा १३ चौका र ७ छक्काको मद्दतमा नटआउट ११९ रन जोडे। कप्तान रस्टिन चेजले ७ बलमा नटआउट १३ रन बनाए।

चार्ल्ससँग १४५ रनको साझेदारी गरेका आन्द्रे फ्लेचर ५३ रन जोडेर आउट भएका थिए। ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका फ्लेचरलाई १६औं ओभरमा सागर ढकालले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।

फाबियन एलन ९ बलमा १९ रन जोडेर करण केसीको बलिङमा १९औं ओभरमा क्याच भए।

त्यसअघि वेस्ट इन्डिजले १० ‌ओभरमै १ विकेटको क्षतिमा १०९ रन जोडेको थियो।

वेस्ट इन्डिजका ओपनर एलिक एथानाज भने चौथो ओभरको पहिलो बलमा रनआउट भए। उनी १७ रन बनाएर खेलिरहदा अनिल साहको थ्रोमा बलर कमलसिंह ऐरीले रनआउट गरे। ननस्ट्राइकमा रहेका उनी चार्ल्सले रनका लागि कुनै संकेत नदिँदा रनआउट भएका थिए।

बलिङमा नेपालका करण केसी र सागर ढकालले १/१ विकेट लिए। चार चार ओभर बलिङ गरेका करण र कमलसिंह ऐरीले क्रमशस् ५४ र ५३ रन खर्चिए।

पाँच खेलको सिरिज १/१ को बराबरीमा छ। पहिलो खेलमा नेपाल र दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएका थिए।

नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजसँग सिरिज खेलेको हो। शनिबार सिरिज सकिएपछि नेपाल तयारीका लागि वेस्ट इन्डिज जानेछ।