प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार छन्: अध्यक्ष भट्टराई

फाइल तस्वीर

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन्।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

योजना, विचार, सिद्धान्त केही चाहिंदैन। कहिले कांग्रेस, कहिले एमालेसँग मिल्यो सत्ता चलायो,भट्टराईले भने,सत्ताका लागि मरिहत्ते गरेर उहाँले जे पनि गरिरहनु भएको छ।

माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण अघि बढाउन नसकिएको जिकिर गरे।

उनले भने,उहाँ सत्ताका लागि जे गर्न पनि तयार हुने व्यक्ति भएको मलाई पहिल्यै थाहा थियो। तर पनि माओवादी आन्दोलनमा लागेका साथीहरूलाई समेटेर नयाँ ढंगले अघि बढ्ने योजना थियो । प्रचण्डकै कारण सफल हुन सकेन।