सहकार्य परिणाममुखी बनाउन केन्द्रित हुँदै बिमस्टेक सम्मेलन

काठमाडौं, भदौ १४ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन क्षेत्रीय सहकार्यलाई परिणाममुखी बनाउन केन्द्रित हुने भएको छ ।

 

सम्मेलनले बिमस्टेक वडापत्र, सचिवालयको संस्थागत सुदृढीकरण, बिमस्टेक कोष र अन्य क्षेत्रीय निकायको प्रस्ट खाका तय गर्ने भएको छ । कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा, कृषि, यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइनजस्ता विषय सम्मेलनका एजेन्डा बनेका छन् । बुधबारको १६औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले क्षेत्रीय सहकार्य परिणामुखी जस्ता विषयलाई प्राथमिकता दिएको हो ।

 

सम्मेलनको औपचारिक उद्घाटन आज बिहीबार दिउँसो होटल सोल्टीमा हुँदै छ । यही सम्मेलनमा बहुपक्षीय ऊर्जा सम्झौता हुँदै छ । मंगलबारको परराष्ट्र सचिवस्तरीय ‘सिनियर अफिसियल्स मिटिङ’ ९सोम० बैठकले सुझाएको यो विषयलाई मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको हो ।

 

‘सोम बैठकले दिएका अधिकांश सुझावमा मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको छ, ऊर्जा सम्झौता हुने निश्चित भयो, यातायात कनेक्टिभिटीको गुरुयोजना केही महिनाभित्रै बनाउने वातावरण तय भएको छ’ –परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

 

बिमस्टेकका १४ प्राथमिकता क्षेत्र घटाउन र मिल्दाजुल्दा प्राथमिकता क्षेत्र एकआपसमा गाभ्ने विषय सम्मेलनको अर्को एजेन्डा बन्दै छ । तर वर्षांैैदेखि चर्चामा रहेको स्वतन्त्र व्यापार सम्झौता यसपटक पनि छलफलको विषयमा सीमित हुने भएको र यसबारेको विस्तृत खाका आगामी महिना बंगलादेशमा हुने बैठकले तय गर्ने बताइएको छ ।

 

नेपालले कनेक्टिभिटी, ‘माउन्टेन इकोनोमी’, जलवायु परिवर्तन, ‘बुद्धिस्ट सर्किट’को एजेन्डालाई प्राथमिकतामा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘नेपाल र भूटान जस्ता पर्वतीय र भू–परिवेष्ठित मुलुकका लागि माउन्टेन र समुद्रसँग पहुँच भएकाहरुका लागि ब्लु इकोनोमीको अवधारणालाई जोड दिइएको हो’ –मन्त्रालयका एक अधिकारीले भने ।

 

गत वर्ष काठमाडौंमा सम्पन्न बिमस्टेको १५औं मन्त्रीस्तरीय बैठकद्वारा यो अवधारणा अघि सारिएको थियो । त्यसै गरी क्षेत्रीय सहकार्य परिणाममुखी बनाउन हरेक सदस्य राष्ट्रका २÷२ जना प्रबुद्ध व्यक्तिको संलग्नता रहने गरी प्रबुद्ध व्यक्ति समूह स्थापना गर्न पनि सो बैठकले सुझाएको थियो । यसैबीच बुधबारको मन्त्रीस्तरीय बैठकको उद्घाटनसत्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेकलाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्नेमा जोड दिनुभयो ।

 

उहाँले कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा, कृषि, यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइन, सूचना महामार्गजस्ता क्षेत्रमा गतिलो हातेमालो हुने औंल्याउनुभयो । मन्त्री ज्ञवालीले भन्नुभयो–‘प्राकृतिक प्रकोप, गरिबी, खाद्य असुरक्षा, पछौटेपन, संगठित अपराध, लागूऔषध कारोबार, जलवायु परिवर्तनले निम्त्याउने जोखिमको सामना गर्न पनि उत्तिकै आवश्यक छ ।’ सदस्य राष्ट्रलाई निकट र बिमस्टेकलाई परिणाममुखी बनाउन स्वतन्त्र व्यापार सम्झौता अपरिहार्य रहेको बताउँदै उहाँले यसबारे गुरुयोजना छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल समाचारपत्राट