मानव ओसार–पसार गर्दै तीन करोड ठगी गर्ने गिरोहका, दुई पक्राउ

काठमाडाै भदाै १८। क्यानडा र फ्रान्स पठाइदिने भन्दै तीन करोड रुपैयाँभन्दा बढी ठगी गर्ने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुल्सीपुर–२ का २७ वर्षीय प्रेरणालक्ष्मी मल्ल र तुल्सीपुर–६ का २९ वर्षीय विराज यादव छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले कञ्चनपुरबाट पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले दुवैलाई मानव बेचबिखन तथा ओसार–पसार मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाएको छ ।

प्रलोभन दिँदै ठग्दै

प्रहरीका अनुसार उनीहरूविरुद्ध १४ पीडितले उजुरी दिएका छन् । आकर्षक कमाइको प्रलोभन दिएर आफूहरूसँग प्रतिव्यक्ति १५ देखि २५ लाख रुपैयाँसम्म रकम उठाएको उजुरीमा उल्लेख छ । उनीहरूले तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको दाबी छ । प्रहरीले मल्ल र यादवलगायत समूहले ठूलो रकम उठाएर अवैध रूपमा मानव ओसार–पसार गर्दै आएको दाबी गरेको छ ।

पीडित १ वर्षसम्म बन्धक

सिआइबी प्रवक्ता एसपी सानुराम भट्टराईका अनुसार मानव ओसार–पसारका लागि उनीहरूले भारत, इथियोपिया हुँदै गिनीको राजधानी कोनाक्रीको रुट प्रयोग गर्दै आएका थिए । यसक्रममा उनीहरूले पीडितलाई ६ महिनादेखि वर्षदिनसम्म अपार्टमेन्टमा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक शोषण गर्दै आएका थिए ।

 

यिनीहरूले अवैध रूपमा मानव ओसार–पसार गरेको देखिन्छ । विशेषगरी भारत, इथियोपिया हुँदै गिनीको राजधानी कोनाक्रीको रुट प्रयोग गरेको देखिन्छ,’ एसपी भट्टराईले भने, ‘पीडितलाई आफन्तसँग सम्पर्क गर्न नदिई ६ महिनादेखि वर्षदिनसम्म यातना दिएको बयानबाट खुलेको छ ।

गिरोहका अन्यको खोजी जारी

प्रहरीले मानव तस्करीमा मल्ल र यादवबाहेक अरू पनि संलग्न रहेको आशंका गरेको छ । ‘अनुसन्धान जारी छ । यो गिरोहमा अरू पनि संलग्न हुन सक्ने आशंका छ,’ एसपी भट्टराईले नयाँ पत्रिकासँग भने ।

पीडितको उजुरीपछि सिआइबीले मल्ल र यादवविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । नोटिस जारी भएपछि उनीहरू इन्टरपोलमार्फत खोजीको सूचीमा थिए ।n.p