मानव अधिकार र न्यायालयले सिके राउत र विप्लवको समर्थन गरे सांसद बस्नेतको गम्भीर अारोप


काठमाडौं असाेज ०१। नेकपाका नेता तथा सांसद महेश बस्नेतले सिके राउत र विप्लव समूहको अराजक गतिविधिलाई नियन्त्रण गर्दा सरकारको आलोचना गरेर मानवअधिकार र न्यायालयले उनीहरूकै पक्षपोषण गरेको आरोप लगाएका छन् ।

 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सांसद बस्नेतले भने, ‘मुलुकको सार्वभौमिक अखण्डतामाथि नै चुनौती दिने गरेर एकातिर सिके राउतका गतिविधि र अर्कोतर्फ आतंकवादलाई नै समर्थन गर्ने ढंगले विप्लव समूहको गतिविधि भएका छन्। त्यस्ता अराजक प्रवृत्तिका गतिविधि र विखण्डनकारी गतिविधिलाई सरकारले नियन्त्रण गर्दा राज्यको आलोचना गर्ने मानवअधिकारवादी र घुमाइफिराइ त्यसलाई समर्थन गर्ने न्यायालयको व्यवहार चाहिँ आज समीक्षाको विषय बनेको बताएका हुन् ।’

 

उनले निर्मला पन्तको घटनालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु गलत भएको दाबी पनि गरे। सत्यतथ्यसहित दोषीलाई सरकारले कानूनी दायरामा ल्याउनैपर्नेमा उनले जोड दिएका छन्।

 

सांसद बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताएका छन्। सरकार सञ्चालन भएको तथा संघीयता कार्यान्वयन भएको सात महीना भएकाले आजका दिनसम्म भएको सरकारका कामकारवाही, नीति नियम, कार्ययोजनालगायत कुराको समीक्षा जरुरी रहेको समेत बताए।