नेपाल प्रहरीको लोकतान्त्रिकीकरण जरुरी

पोखरा,कात्तिक ११। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीको लोकतान्त्रिकीकरण हुनुपर्ने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयको आयोजनामा आज पोखरामा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रममा उहाँले शासन सत्ता टिकाउनका लागि शासकहरूले नेपाल प्रहरीको प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै यसको लोकतान्त्रिकीकरण हुनु आवश्यक भएको बताउनुभयो ।

 

राजनीतिकीकरणबाट प्रहरीलाई मुक्त गर्दै यसको छवी राम्रो बनाउनुपर्नेमा उहाँको जोड थियो । सङ्घीय व्यवस्थाअनुरुप प्रदेशको सुरक्षा व्यवस्था प्रदेशको मातहतमा आउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसका लागि साबिकको प्रहरी ऐन चाँडो संशोधन हुनुपर्ने बताउनुभयो। समाज एवं राज्यको सुरक्षामा प्रहरीको मात्र नभई व्यक्ति, परिवार र समुदायको महत्वपूर्ण भूमिका हुने उहाँले उल्लेख गर्नुभयो ।

 

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सुरक्षाका लागि व्यक्ति, समाज एवम् समुदायलाई जोड्ने गरी आएको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

 

सामाजिक विकासमन्त्री नरदेवी पुनले समाजिक सुरक्षाको वातावरणका लागि नागरिक र प्रहरी दुवैको सहकार्य आवश्यक छ भन्नुभयो । प्रहरी नायब महानिरीक्षक दानसिंह बोहोराले सुरक्षाको प्रभावकारिताका लागि नेपाल प्रहरीसँग स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालय समेतलाई जोड्ने गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गर्न लागिएको बताउनुभयो । नेपाल प्रहरीले आजैदेखि केन्द्र एवम् सातवटै प्रदेशमा यो कार्यक्रमको शुभारम्भ गरेको उहाँले बताउनुभयो ।

 

कार्यक्रममा कास्कीका प्रजिअ चन्द्रबहादुर बुढा, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री लगायतले नागरिक सुरक्षाको प्रभावकारिताका लागि यो कार्यक्रम सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस