किन बढ्दैछ नेपाली नेतामा चीन मोह ? यस्तो छ कारण


काठमाडौं असाेज १९। नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार चीन भ्रमणबाट फर्किएका छन्। नेता नेपाल चीनको हुवेइ प्रान्तमा थ्री गर्जेज विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए। नेता नेपालले चीनको भ्रमण गर्नु पहिले नेकपाकै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा भदौ ३० गते चीनतर्फ लागेका थिए।

 

दाहालले चीन भ्रमण गरिरहेकै बेला उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका प्रवक्ता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री लालबाबु पण्डित, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही तथा नेकपाका केन्द्रीयस्तरका नेता तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, शेखर कोइरालासहितका नेताहरू चीन भ्रमणमा थिए।

 

भदौ २२ गते सभामुख कृष्णबहादुर महरासहितको १० सदस्यीय प्रतिनिधिमण्डल चीन स्वशासित तिब्बतको भ्रमण गरेर भदौ २७ गते काठमाडौं फर्किएका थिए। गत असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डलका सदस्य तथा केन्द्रीय स्तरका नेताहरूसहित चीन भ्रमण गरेका थिए। उनको भ्रमणमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मन्त्रीहरू वर्षमान पुन, रघुवीर महासेठलगायत सांसद तथा उच्च सरकारी अधिकारीहरू भ्रमणमा सहभागी थिए।

 

पछिल्लो समय नेपालमा कम्युनिस्ट सरकार गठन हुनु र नेपालका कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचमा बढी सम्पर्क हुुन थालेपछि नेपालमा चिनियाँ प्रभाव थप वृद्धि भएको उनको तर्क छ।

 

ई ठूला पार्टी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा एकता भइरहँदा जेठ पहिलो साता नेकपाका नेता एवं सचिवालय सदस्य झलनाथ खनाल चीन भ्रमणमै थिए। आफू चीनमा रहेका बेला आफ्नो घटुवा हुनेगरी जिम्मेवारी तोकिएको भन्दै खनाल अहिले पनि असन्तुष्ट हुने गरेका छन्।

 

हालै मात्र पनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पाँच दिने चीन भ्रमण गरेर स्वदेश फर्किएका छन्। अहिले पनि विभिन्न पार्टीका नेता कार्यकर्ता देखि सरकारी उच्च अधिकारीहरूको चीन जाने आउने क्रम चलिरहेको छ।

 

कुटनीतिक क्षेत्रका जानकारहरू पछिल्लो समय नेपालको उच्च तहको राजनीतिक चीन तर्फ बढ्नुका पछाडि नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्नु मुख्य कारण बताउँछन्। केही वर्ष पहिलेसम्म नेपालको राजनीतिमा ‘किङ मेकर’को भूमिकामा भारत रहेपछि अहिले त्यो भूमिका चीनले लिन थालेको जानकारहरू बताउँछन्। आजको नागरीक दैनिकबाट ।