एकलौटी प्रतिनिधि मनोनीत गरेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रूपमा महाधिवेशन प्रतिनिधि मनोनीत गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ। शुक्रबारको सचिवालय बैठकमा ओली र पोखरेल समूहले ६०/४० को अनुपातमा प्रतिनिधि मनोनीत गर्ने सहमति भए पनि एकलौटी गरेको भन्दै पोखरेल समूहले आपत्ति जनाएको हो।

पोखरेल समूहका पत्रकार राजेश राईले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार पोखरेल समूहले गम्भीर असहमति जनाएको बताएका छन्।

उनले भनेका छन्,हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने सहमति भएको थियो। सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने कुराकानी भएको थियो। तर उक्त सहमति विपरीत एक पक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले आपत्ति जनाउनुभएको छ।