आइसिसी टी–ट्वान्टी विश्वकप छनोट : नेपाल-भुटान भिड्दै


काठमाडौँ असाेज २३। आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मंगलबार नेपालले भूटानसँग खेल्नेछ । मलेसियाको युकेएम क्रिकेट ओभलमा स्थानीय समयअनुसार विहान १० बजे नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । कमजोर मानिएको टिम भुटानलाई पराजित गरे नेपाल दुई खेल खेल्नु अघि नै टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटको फाइनल राउण्डमा प्रवेश गर्नेछ ।

नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा भूटानको प्रदर्शन कमजोर रहेको छ । एक खेलमा जित निकालेको भूटान दुई खेलमा पराजित भइसकेको छ ।

 

नेपालले तीन खेलबाट ६ अङ्क जोडेको छ । भूटान तीन खेलबाट दुई अङ्कका साथ पाँचौ स्थानमा छ । नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनुपरेको छैन । नेपालले भूटानविरुद्धको पाँच खेलमा चारमा जित तथा एउटा खेल वर्षाका कारण नतिजाबिहीन बनेको थियो । नेपाल १२ वर्षपछि भूटानसँग खेल्न लागेको हो ।

 

नेपाली टोलीमा पारस खड्का ९कप्तान०, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी रहेका छन् । मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट र व्यवस्थापकमा रमन शिवाकोटी छन् । छनोट प्रतियोगिताअन्तर्गत नेपालले बुधबार चीन र शुक्रबार अन्तिम खेल सिङ्गापुरसँग खेल्नेछ ।