प्रदेश १ का गृहमन्त्री कार्कीले दिए ज्यान लिने धम्की

झापा कार्तिक १७  गौरादह । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विगत एक सातादेखि स्थानीय बाटो निर्माण गर्न ठेकेदारलाई दबाब दिने उदेश्यले शान्तिपूर्ण आन्दोलनमा लागेकाहरुलाई ज्यान मार्ने धम्की दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र भएको दाबी गर्ने कार्कीले शुक्रबार बिहान ९ बजेर ३० मिनेट जाँदा स्थानीय टंकप्रसाद खनाललाई बाटो अवरोध नखोलेमा ज्यान मार्ने धम्की दिएका हुन् । कार्कीले खनाललाई ज्यान मार्ने धम्की दिएपछि शान्ति सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय गौरादह पुगेका खनाललाई प्रहरी सहायक निरिक्षक खड्ग बहादुर खड्काले कसैको चिया नखाइ निबेदन दर्ता नगर्ने भनी हप्काइ दप्काई गरेर पठाएका थिए ।

शनिबार स्थानीय सरोकारवालसहित प्रहरी कार्यालय पुगेका खनालको उजुरी भने प्रहरी नावय निरिक्षक सुरेन्द्र श्रेष्ठले दर्ता नगरी लिएका छन् । प्रदेश कानुनमन्त्री कार्कीले यसअघि बुधबार २ देखि ३ बजेसम्म टेम्पो चालक सचेन कार्कीको नेतृत्वमा आधा दर्जन गुण्डा लिएर खनालको घर घेरेका थिए । आफूलाई प्रदेश मन्त्री कार्कीको संरक्षण रहेको भन्दै धम्की दिएका कार्कीबिरुद्ध समेत खनालले प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

प्रदेश १ का मन्त्री हिक्मत कार्की गौरादह नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् । गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नागार्जुन विष्णु जेभीले गत जेठ महिनामा सम्झौता विपरित वेस ग्राभेल नगरी पिच गर्न खोजेको थियो। स्थानीयले थाहा पाएर गिटी र ग्राभेल नहाली बाटो पिच गर्न नदिने अडानपछि गौरादह नगरपालिकाका मेयर रोहित साहको रोहबरमा सो सडक पिच गर्न माटो हालेर बेस बनाइएको बाटो भत्काएर हाल गिटी हालिएको छ।

स्थानीयको दबाबमा पिच गर्न लागेको बाटो भत्काउनु पर्दा ठेकेदारले घाटा लाग्ने भन्दै गुनासो गरेका थिए। तर सम्झौता बमोजिम बनाउनु पर्ने सो बाटो अहिले ठेकेदारले अलपत्र छोडेर भागेका छन् । स्थानीय जनताले ठेकेदारलाई या त कारबाही गर्नु पर्ने वा ठेक्का रद्ध गर्नु पर्ने माग गरेका छन्। तर, प्रदेश मन्त्री कार्कीको दबाबमा सडक डिभिजन कार्यालय दमकले ठेकेदारलाई कारबाही गर्न सकेका छैनन्।

विवाद बढ्दै गएपछि स्थानीयले कात्तिक ११ गते गौरादह नगरपालिकाको डिपु चोकमा राँके जुलुस सहित विरोधमा उत्रिएका थिए। उनीहरुले निर्माणधिन धुलाम्मे सडक अलपत्र पारेको बिरोधमा व्यानर, प्लेकार्ड सहित नाराबाजी गर्दै गौरादह बजार पूर्व डिठ्ठा चोकबाट प्रदर्शनमा उत्रिएका थिए।

निर्माण कम्पनी नागार्जुन विष्णु जेभीसंगको सम्झौताको समय सिमा अनुसार सो सडक निर्माण आउँदो चैत्र महिनामा सम्पन्न हुनु पर्ने छ । साडे सात किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गर्न नेपाल सरकारले ५ करोड ७२ लाख ४२ हजार ८ सय रुपयाँ बजेट बिनियोजन समेत गरिसकेको छ । १९ महिना अगाडि निर्माण सम्झौता भएको गौरादह– बैगुनधुरा– कोरोबारी सडक निर्माण योजना चालु आर्थिक बर्षमा रोकिए पछि स्थानीयहरु आक्रोसित बनेको गौरादह वार्ड नं २ का टोल विकास समितिका अध्यक्ष राजन खनालले बताए ।

सडक कालो पत्रे हुने भयो भनेर उत्साही स्थानीयहरुले सडक चौंडा गर्न स्वतस्फुर्त सडक किनाराका रुख विरुवा, घर टहरा भत्काएर सडक निर्माणमा सहयोग नसरकारका जनप्रतिनिधि समेत मौन रहेर आर्थिक बर्ष सुरु भएको पनि १०० दिन बित्ता पनि निर्माण सुरु नभए पछि सडक उपभोक्तहरु आन्दोलित हुन बाध्य हुनुपरेको गौरादह वार्ड नं १ का टोल विकास समितिका अध्यक्ष देबेन्द्र खड्का बताउँछन् ।

स्तरोन्नति गर्न लागिएको सो सडक अर्थमन्त्री डा। युवराज खतिवडा र पूर्वकानुन मन्त्री अग्नी खरेलको गृह नगरसमेत हो। ठेकेदारलाई बचाउनको लागि स्थानीयलाई ज्यान मार्न धम्की दिँने प्रदेश मन्त्री कार्की शनिबार पनि गौरादह गएर सो सडक निर्माणको माग गर्नेहरुलाई एक एक गर्दै ठीक गर्ने भन्दै धम्की दिन थालेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशन बमोजिम सडक स्तरोन्नति हुने आश्वासन दिँए पनि ठेकेदारलाई काममा ल्याउने कुनै प्रतिवद्धता व्यक्त गरेका छैनन् । पुरानो ठेकेदारले पैशा पनि असुल गरिसकेकोले पुन टेण्डर गरेर सो सडक निर्माण कार्य गर्न प्रदेश मन्त्री कार्कीले यस्तो हर्कत गरेको स्थानीयको गुनासो छ।

सोही बाटो निर्माणमा ठेक्केदारले लापरवाही गर्दा स्थानीयले अबरोध गर्दा मन्त्री कार्कीका आफन्त र एमालेका कार्यकर्ताले छापामाध्यम लोकतान्त्रिक संञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीलाई ज्यानमार्ने धम्की दिएका थिए। यो सडकको सम्वन्धनमा आफ्नो गृहनगर भएर पनि अर्थमन्त्री युवराज खतिवडाले भने कुनै चासो नदेखाई प्रदेश मन्त्री हिक्मत कार्कीकै भर परेको अर्थ मन्त्रालय स्रोतले वतायो।