मलामी चढेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, आठ घाइते

कञ्चनपुर, कात्तिक १८ । मलामी चढेको से १ त ५४२२ नम्बर ट्याक्टर आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्म जोशीका अनुसार मृत्यु हुनेमा बेदकोट नगरपालिका ४ बैतोडाका ३२ वर्षीय प्रेम धामी र ३३ वर्षीय राजेन्द्र जाग्री रहेका छन् । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

 

प्रहरी निरीक्षक जोशीका अनुसार घाइतेमध्ये चार जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यत्र लगिएको छ। अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मलामी फर्कने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटना हुनुको कारण भने खुल्न नसकेको भए पनि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।