वन अधिकृत घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई पक्राउ गरेको छ ।

 

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

 

यस्तै आयोगले युगज्योति माध्यमिक विद्यालय, देवदह, रुपन्देहीका प्रधानाध्यापक शिवप्रसाद ढुङ्गानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।