आज कुकुरतिहार,कुकुरको पूजा गरी मनाइदै

काठमाडौं, कात्तिक २० ।आज  तिहारको दोस्रो दिन अर्थात यमपञ्चक  घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई मीठो -मीठो खान दिएर कुकर तिहार मनाइदै । हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने परम्परा रहेको छ । इमान्दार  घरको रक्षकको रुपमा कुकुरलाई आज  रोटी, खीर लगायतका मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ । 

 

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घ्राण क्षमता वा सुँघेर बस्तु चिन्ने क्षमतामा अति शक्तिशाली मानिने कुकुरलाई यमराजको यमदूत वा सहायक मान्ने गरिन्छ । मानवबस्तीमा डुल्ने कुकुर पृथ्वीको जुनसुकै हावापानी हुने ठाउँमा रहेको बस्तीमा पाइने मान्छेको पनि सहयोगी जनावर हो । हिमाली खण्डमा कुकुरले जीवजन्तु चराउने चरनमा भेडाबाख्रा रक्षा गर्न सहयोग गरेको पाइन्छ । यसले वातावरणको सफाइमा पनि सहयोग गर्छ । नेवारी समुदायमा यस दिनलाई खिचापूजा भन्ने चलन छ ।

 

घरमा कुकुर पाल्नाले मुटुको रोग र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ। मंगलबार नै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ। स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ।

 

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बिहानै तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत रहेको छ। यसोगरेमा चिसो शरीरभित्र पस्दैन भन्ने वैज्ञानिक मत रहेको छ।

 

तिहारको दोस्रो दिन कुकुर तिहारको साँझ पनि गाउँघर र शहरमा दीपावली गरी बस्तीलाई झकमक पारिन्छ । नगरबस्तीमा तिहारका मूल फूलहरु सयपत्री, मखमली, गोदावरीको माला र राश बनाई बेच्ने किन्ने भीड लाग्दछ । शहरमा तिहारका मालसामानको किनमेल गर्नेको पनि घुइँचो देखिन्छ ।आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ ।