हामीसँग ब्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत छैन: प्रचण्ड

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप रोक्न बलिस्टिक मिसाइल जस्ता अस्त्रको सामर्थ्य नभए पनि जनताको एकता नै सबभन्दा ठूलो शक्ति भएको बताएका छन्।

शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, कतिपय विदेशी शक्तिहरूको चलखेल स्वाभाविक रूपमा हुन्छ । तर हामीसँग व्यालेस्टिक मिसाइल प्रयोग गरेर त्यसलाई रोक्ने तागत छैन। त्यसैले जनताको शक्ति, एकता र सङ्गठन नै हाम्रो मुख्य हतियार हो।

प्रचण्डले पछिल्लो समय चर्चामा आएको ‘जेनजी’ आन्दोलनलाई राजनीतिक दल र पुराना नेतृत्वका लागि गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै यसलाई सकारात्मक रूपमा लिएको बताए।

उनले भने,जेनजी आन्दोलनले हामीलाई सच्चिने कि सक्किने” भन्ने चेतावनी दियो। मैले उनीहरूलाई धन्यवाद दिएँ, किनकि यसले हामीलाई सच्याउने अवसर प्रदान गरेको छ।

उनले सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी गर्दै युवाहरूका मागहरू आफ्नो पार्टीको नीतिसँग मिल्दाजुल्दा रहेको दाबी गरे।

अहिले हजारौँ जेनजी युवा हामीसँग जोडिएका छन्। उनीहरू भन्छन्– हाम्रो अभिभावक प्रचण्ड नै रहेछन् । यसले कतिपय शक्तिहरू आत्तिएका छन्, किनकि सबै नेपाली कम्युनिस्टहरू एक ठाउँमा केन्द्रित हुँदैछन्,प्रचण्डले भने।