बस दुर्घटनामा ,१७ घाइते

गोरखा, कात्तिक २५। गोरखामा शनिबार साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट १७ लाख क्षति

गोरखाको गण्डकी गाउँपालिका–७ मा आज दिउँसो भएको आगलागीबाट रु १७ लाख बराबरको क्षति भएको छ । गण्डकी गाउँपालिकाको ज्यामिरे भन्ने स्थानमा स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घरमा आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

आगलागीबाट दिपक रेग्मीको ढुङगा माटोले बनेको र जस्ताले छाएको तीनतले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट रेग्मीको घरमा रहेको नगद रु एक लाख लाख ५० हजारसहित दश लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । त्यसैसँगै जोडिएको निर्मला रेग्मीको ढुङगा माटोले बनेकोे एक तले घर पनि आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ ।

 

आगलागीबाट उहाँको समेत घरमा रहेको नगद रु ८० हजारसहित छ तोला सुन, लत्ताकपडा अन्नपात, भाँडावर्तन गरी रु सात लाख ५३ हजार बराबर क्षति भएको प्रहरीले जनाएको छ । बिहान करीब १० बजेतिर शुरु भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

 

घ्याल्चोक प्रहरी चौकीबाट खटिई गएको प्रहरीको टोली, स्थानीयवासीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । बिजुली चुहावट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।रासस