यसरी फैलियो हैजा, दश हजार प्रभावित १८० को मृत्यु

लागोस,  कात्तिक २७ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १८० जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभावित भएका छन् ।

बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ ।

मानवीय सहायता सम्वन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् ।नोभेम्बर महिनाको सुरुवाती दिनहरूमै प्रकोप फैलिएको समाचारमा जनाइएको छ ।

“शरणार्थी शिविरहरूमा ठूलो भीडभाडका साथ एकै ठाउँमा बस्नु परेकाले हैजाको प्रकोप छिटो छिटो धेरैतिर फैलिएको हो,” बोर्नो राज्यको

राजधानी मैडुगुरीमा एनआरसीका कार्यक्रम व्यवस्थापक जानेट चेरोनोले भन्नुभयो ।

उहाँले एकैठाउँमा बसेकाहरूका लागि पानी र सरसफाईको व्यवस्थापन राम्रो नहँुदा समस्या भएको बताउनुभयो ।
नाइजेरियामा बोको हरामका कारण सुरु भएको हिंसासँगै सन् २००९ देखि नै हैजाको प्रकोप फैलिने गरेको छ । रासस÷एएफपी