शिक्षक चिनियाँ भाषाको विद्यार्थी बन्दै

काठमाडौँ, कात्तिक २७ । काठमाडौँ उपत्यका र आसपासका जिल्लाका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई आजदेखि चिनियाँ भाषा तथा संस्कृति सिकाउन थालिएको छ ।

 

चीन सरकारको सहयोगमा कलङ्कीस्थित लर्निङ रियल्म, इन्टरनेशनल ९एलआरआई० विद्यालय परिसरमा विभिन्न ६० विद्यालयका करीब १५० शिक्षकलाई भाषा सिकाउन शुरु गरिएको हो । आगामी मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भाषा प्रशिक्षणमा चिनियाँ संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषा सिकाइनेछ ।

 

भाषा प्रशिक्षणको आज शुभारम्भ गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भृकुटी र कलाकार अरनिकोले चीनमा नेपालको सांस्कृतिक सम्बन्धको शुरुआत गरेका थिए भन्दै भाषा तथा संस्कृतिले दुवै मुलुकको शिक्षा, सभ्यता, प्रविधिको विकास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले भानु मावि ९दरबार हाइस्कूल०लगायत हिमाली भेगका विद्यालयको पुनःनिर्माणका साथै मर्मत तथा जीर्णोद्धारमा चिनियाँ स्वयंंसेवकले गरिरहेको सहयोगको सराहना गर्नुभयो ।

 

यहाँस्थित चिनियाँ दूतावासका प्रतिनिधि झाङ फानले भाषा सिकाइका माध्यमबाट दुवै मुलुकबीच शदियौँ पुरानो कूटनीतिक सम्बन्धलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजका उपसभापति याङ वेईले दुवै देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

एलआरआई विद्यालयका प्राचार्य देवकान्त जोशीले भाषाका माध्यमबाट शिक्षकको क्षमता अभिवृद्धि गरी पछिल्लो समय विकास भएका प्रविधिको ज्ञान उपलब्ध गराउन सकेमा विद्यार्थी लाभान्वित हुने बताउनुभयो । सहभागी शिक्षिका जानुका नेपालले चिनियाँविज्ञले सिकाउने चिनियाँ संस्कृतिका साथै भाषाले नयाँ ज्ञान प्राप्त हुनाका साथै चीनका मौलिक परम्पराबारे जानकारी प्राप्त हुने बताउनुभयो ।

 

उक्त विद्यालयले मुलुकको राजनीतिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निर्माण गरेको ‘विद्यार्थी संसद्’ कक्षामा देशका ७७ जिल्लाबाट प्रतिनिधित्व हुने गरी विद्यार्थी उपस्थित गराइएको थियो ।

 

यसैबीच विद्यालयले सञ्चालन गरेको संसद्मा मन्त्री पोखरेलले देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताका कारण विकास निर्माण तथा आर्थिक सफलता कायम हुन नसकेको उल्लेख गर्दै भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानको नेतृत्व गर्नुभएको छ, केही वर्षभित्र यो मुलुक सम्पन्न हुनेछ, सरकार त्यसतर्फ उन्मुख छ ।” रासस