प्रधानसेनापतिले गरे यस्तो कठोर निर्णय,नक्कली प्रमाणपत्रधारीमाथी सेनामा छानविन सुरु


काठमाडौं कार्तिक २७। नेपाली सेनाले आफ्ना सबै अधिकृतहरुको शैक्षिक प्रमाणपत्र र नागरीकताको विवरण पुनः सैनिक मुख्यालयमा पठाउन मातहतका सवै निकायलाई पत्रचार गरेको छ ।

सेनामा नक्कली प्रमाणपत्र पेश गरेर लामो समय जागिर खाएको गुनासो आएपछि सेनाले आन्तरिक छानविनलाई अघि बढाएको हो । नेपाली सेनामा यसअघि केहि उच्च अधिकृतहरुले नक्कली प्रमाणपत्र र उमेर किर्ते गरेको देखिएपछी जागिर समेत गएको थियो ।

 

प्रधानसेनापति पुर्णचन्द्र थापाको आदेशमा सेनामा देशैभरका सबै अधिकृतहरुको शैक्षिक योग्यताको प्रमाणपत्र माग भएको हो । उनले निर्देशन दिएपछि सैनिक सचिवको कार्यालयले गत साता नै मातहतका सवै निकायमा लिखित पत्रचार गरेको हो ।

 

थापाले सेनामा भ्रष्ट्राचार नियन्त्रणका लागी सैनिक अदालतलाई सक्रिय बनाउने, नक्कली प्रमाणपत्रधारीहरुको छानविन गर्ने, फाष्ट ट्रयाक बढुवा प्रणालीलाई सुधार गर्ने र खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका थिए ।

 

नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सवै सैनिक अधिकृतको शैक्षिक योग्यताको प्रमाणपत्र अपडेटका लागी पत्रचार गरिएको बताए ।

 

उनले काठमाडौंपाटीसंग भने ‘यो नियमित प्रक्रिया हो, अहिले पनि हामिले सबै अधिकृतहरुको विवरण माग गरेका छौ ।’ सेनामा केही उपरथीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र र जन्ममिती नै सच्याएको उजुरीपछि प्रधानसेनापतिले सबै अधिकृतहरुको विवरण माग गर्न निर्देशन दिएका हुन् ।

 

प्रधानसेनापति थापाले अनलाईन डिग्रि भएकाहरुको हकमा पनि छानविन गर्ने तयारी गरेको स्रोतको दाबी छ । अनलाइन डिग्री भएको भन्दै सहायकरथी नैनराज दाहालको बढुवा समेत रोकिएको थियो । नेपाली सेनाका केही सहायकरथी र दुई जना उपरथीहरुको शैक्षिक योग्यता र जन्ममितीमा कैफियत देखिएपछि बढुवा नै रोक्ने मनस्थितीमा प्रधानसेनापति पुगेको सैनिक स्रोतले बतायो ।

 

‘उहाले जन्ममिती सच्याउने,नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने र अनलाइन डिग्री बाला अधिकृतहरुको हकमा कडा निती अपनाउने सोच बनाउनुभएको छ, त्यसैले सबै अधिकृतहरुको प्रमाणपत्र र सच्याउनुको कारण पनि माग गर्नुभएको हो ।’ सेनाका एक उपरथीले भने ।
प्रधानसेनापति थापाले सैनिक मुख्यालयमा विदेशीहरुको प्रवेशलाई समेत कडाई गरेका छन् ।

 

उनले अनावश्यक रुपमा विदेशीहरुसंगको भेटघाट नगर्न समेत मातहतका निकायलाई सचेत गराईसकेका छन् । यसअघि भर्ना छनौटमा भ्रष्टाचार गरेको भन्दै सेनाका केही अधिकृतसहित दुई दर्जनमाथी कोर्ट मार्सल गर्न समेत सेनापतिले निर्देशन दिएपछि छानविनको प्रक्रिया समेत अघि बढेको छ ।

 

उनले सेनाको आर्मी अफिसर क्लव निजी प्रयोजनमा प्रयोग गर्न नपाईने नियम लागु गर्नुका साथै जर्नेलका श्रीमतीलाई रानी साप भन्ने प्रचलन समेत हटाउने घोषणा गरेका थिए । उनले मातहतका कार्यालयमा प्रधानसेनापतिको फोटो नराख्न पनि निर्देशन दिएका थिए ।