चोरी गर्ने गिरोह प्रहरीद्वारा पक्राउ

भक्तपुर, कात्तिक २८ । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ दार्जलिङ हाइटमा बस्ने जीतबहादुर तामाङको कोठाबाट विभिन्न सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ घर भई हाल ललितपुरको ग्वार्खो बस्ने १९ वर्षीय राजु तामाङ र काभ्रे तेमाल गाउँपालिका– ९ मेच्छे घर भई हाल ललितपुर जिल्ला इमाडोल बस्ने २१ वर्षीय किसन तामाङलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तामाङको कोठाबाट नगद रु एक लाख र मोबाइल सेट एक थान र सूर्यविनायक–६ सुन्दरबस्तीमा कोठामा बस्ने रमिता तामाङको मोबाइल सेट एक थानसहित दुई जनालाई पक्राउ गरेको प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

 

निजहरुको साथबाट प्रहरीले चोरिएका मोबाइल, सुनचाँदीका गहना, नगद बरामद गरेको र गिरोहमध्येका फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यो गिरोहले अन्य क्षेत्रमा पनि चोरी गरेको खुलेकाले थप अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ ।रासस