बाजुरामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

बाजुरा, कार्तिक २९ । बाजुराको खप्तड छेडेदह गाउँपालिकाबाट जिल्ला सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप साँफे मार्तडी सडक अन्तरगत बुढीगंगा नगरपालिका– २ बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–४ का ४० वर्षीया जीपका मालिक सहित रहेका चालक धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएका बताइएको छ ।

 

दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मृतक चालक साउँदका २२ वर्षीय छोरा नवराज साँउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा रहेका छन् ।

 

घाइतेहरुको थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकभन्दा १ सय मिटर तल खसेको बताइएको छ ।