४६० क्यामरा (सिसिटिभी)बाट निगरानी, २० हजार चालक कारवाहीमा

 

काठमाडौँ,  कार्तिक२९ ।  ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ ।

विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो । आव २०७३÷७४ मा १३ हजार २२७, आव २०७४÷७५ मा दुई हजार ७१६ र आव २०७५÷७६ मा दुई हजार ७५२ जनालाई कारवाही गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको बताउनुभयो ।

 

“उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही सङ्ख्या बढाएका हौँ”, उहाँले भन्नुभयो ।

 

साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ ।   रासस