१ किलो सुन ४० लाखमा किनेको नक्कली परे पछि रुदै कराउदै रबि लामिछानेकोमा

काठमाडौं, कात्तिक ३० । बजारमा ५९ हजार प्रति तोला मुल्य रहेको सुन प्रति किलो ४० लाखमै दिन्छु भन्ने कोही भेटिए भने होस गर्नुहोस् उनिहरु सक्कलीको मुल्यमा नक्कली सुन बेच्ने ठग हुनसक्छन् । २ साता अघि ज्ञानेश्वरकी अञ्जु शर्माले ४० लाख नगद तिरेर एउटा गिरोसँग सुन किनिन् तर घरमा पुगेर हेर्दा त सुनौलो रङ लेपन गरिएको नक्कली सुन पो रहेछ ।

 

घरबाट सुन बेच्नेहरुलाई फोन गर्दा सबै फोेन अफ थिए । घर परिवार कसैलाई पनि जानकारी नगराई लाखौमा खरिद गरेको सुन नक्कली परेपछि उनि निकै तनावमा थिइन् । सस्तोमा सुन किनेर बेच्दा छिटो समयमा मनग्य आम्दामी हुने लोभमा बसेकी अञ्जु अत्तालीदै हाम्रो कार्यालयमा आइन् ।

उनको घटना बुझेपछि यसका अनुसन्धान तथा कारवाहीको लागि हामीले केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीमा पु¥याआँै । केन्द्रिय अनुसन्धान व्युरोले एक सातामै उनलाई नक्कली सुन बेचेर लाखाँै ठग्ने गिरोहनै पक्राउ गरेको छ ।

उनिहरुको ठगी नेक्सस यस्तो छ

अञ्जु शर्मालाई सुनसरी धरान १७ का पवन विकले १ केजी सुन ४० लाखमा पाइने भन्दै किन्न हौसाउँछन् । अञ्जुले सुन किन्न सहमत ४८ लाख लिएर न्युरोटमा पवन विक र उनका साथी धनुषा जनकपुर ९ का मनिष ढुङगानालाई भेटिन् । विक र ढुङगानाले जनही १ लाख रुपैयाँ कमिशन लिएर सुन किन्ने मान्छे खोज्ने काम गर्छन् ।

 

उनिहरुले अञ्जुलाई सर्लाही लालबन्दी ११ का रोहित मगर भनिने पूर्ण बहादुर पुलामीलाई भेटाए । उनि मुख्य योजनकार हुन् । उनिसँगै अर्का एजेन्ट सर्लाही हरिवनका बिवेक भनिने धनेश्वर कुमार दनुवार पनि थिए ।

 

उनि पनि १ लाख लिएर काम गर्ने एजेन्ट हुन् । उनिहरु सबैले बौद्ध स्थित एक होटलमा पैसा दिन र सुन अर्को दिन दिने योजना बनाए तर अञ्जुले सुन हात नपरेसम्म पैसा नदिने अडान लिएपछि धनकुटा राजारानी ६ की सलिना शेर्पा भनिने संगिता राईले भेटिन् । उनि ५ लाख रुपैयाँ लिएर काम गर्ने अर्की एजेन्ट रहिछन् ।

 

उनले केटाहरुको विश्वास नगर्न र अर्को दिन आँफुले सुन दिने भन्दै फकाइन् । अर्को दिन पुन संगिता राईले र उनका प्रेमी पर्सा बिरुवागुठी १ का सन्तोष कुमार लामाले बौद्धकै अर्को होटलमा बोलाए । त्यहाँ पुग्दा कालो सेलेटेपले खोल्न नसकिने गरी बेरिएको सुनकै जस्तो पाता दिए र ४० लाख पैसा लिए । घरमा पुगेर सुन परिक्षण गर्दा अञ्जु शर्मा छाँगाबाट खसे जस्तै भइन् ।

 

अहिले ६ जना सिआइबीको थुनामा छन् भने उनिहरुलाई ठगी र संगठित ठगी अभियोगमा अदालतबाट म्याद थप गरेर अनुशन्धान भैरहेको सिआइबीले जनाएको छ । सिआइबीका प्रवक्ता सुदीप गिरीका अनुसार उनिहरु भन्दा माथिल्लो तहमा रहेको गिरोहको समेत खोजी कार्य भइरहेको छ ।न्युज २४ बाट साभार