३ लाख बराबरका मोबाइल सेट चोरी

बाजुरा, मंसिर २ । बाजुरा सदरमुकाम मार्तडीको दुनीहाटबजारमा रहेको युनिशा मोबाइल ग्यालरी पसलबाट ३ लाख बराबरका मोबाइल सेट चोरी भएका छन् ।

 

सदरमुकाम मार्तडीको मुख्य ब्यापारी केन्द्र मानिदै आएको बडीमािलका नगरपालिकाको वडा नं। ९ को दुनीहाटबजारबाट शनिबार राति मोबाइल पसलमा चोरी भएको हो ।

 

जिल्लाको मुटु मानिने सदरमुकाम मार्तडी जिल्ला प्रहरी कार्यालय बाजुरासंगै जोडिएको मुख्य बजारको मोबाइल पसलबाट करिब ३ लाख बराबरको मोबाइलहरु चोरी भएको पसलका संचालक डम्बर नेपालीले बताए ।

 

शनिबार राति करिब १२ बजेको समयमा पसलको ढोकामा लगाइएको ताला फोडेर पसलभित्र रहेका विभिन्न कम्पनिका मोबाइल सेटहरु चोरी भएको पसलका संचालक नेपालीले बताए ।

 

चोरी भएको पसल जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै रहेको छ । सधै जसो प्रहरीको टोलीले सुरक्षा दिईरहने सो क्षेत्रको पसल शनिबार साँझ चोरी भएपछि हाटबजारमा रहेका अन्य व्यवसायीहरु पनि त्रसित भएका छन् ।

 

पसलको चोरी भएपछि प्रहरीले आइतबार घटनाबारे जानकारी लिइ चोरी गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।