पेट र छाती जोडिएका जुम्ल्याहा बालिकाको जन्म

सुर्खेत, मंसिर ३ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो ।

 

उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिए । उनका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनले बताए ।

 

‘पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो,’ डा शाहले भने, ‘एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।

 

यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उनको भनाइ थियो । ललिताका पति विर्खबहादुर बुढाले ललितालाई चार दिनसम्म कालीकोट अस्पतालमा राखेका थिए । अस्पतालले पठाएपछि उनले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याए ।

 

बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको बताए । उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिए ।

एकातिर खुशी छु तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ’ बुढाले भने । बालिकाको जीवन बचाइदिन उनले सरकारसँग सहयोगको याचना गरेका छन् ।

रासस