निर्मलाका बुवा भन्छन्-‘मेरो प्राण गए पनि न्याय नपाउन्जेल यहाँबाट उठ्दिनँ’

  कञ्चनपुर मंसिर ६ । निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना थालेको बुधबार एघार दिन भयो। रातदिन धर्नामा बसेका दुर्गा र यज्ञराजको स्वास्थ्यमा समस्या देखिन थालेको छ। रक्तचाप बढेर स्वास्थ्य जटिल बनेपछि मंगलबार महाकाली अञ्चल अस्पतालका चिकित्सक आएर धर्नास्थलमै उनीहरूको उपचार गरेका थिए।

‘मैले चिकित्सलाई बोलाएर उपचार गराउन लगाएको हुँ’, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले भने, ‘भीडमा सबै मान्छेलाई एउटै कुराको जबाफ दिइराख्नुपर्दा उहाँहरूलाई थप समस्या भएको चिकित्सकले बताएका छन्।’ 

 

निर्मलाको हत्यारा पत्ता लगाउन चार महिनादेखि अनुसन्धान गर्दा पनि तथ्य फेला पर्न नसकिरहेका बेला धर्ना बसेर उनीहरूका माग पूरा हुनेमा अन्योल देखिएको छ। हत्यारा पत्ता नलागुन्जेल अनिश्चितकालीन धर्ना बस्ने उनीहरूको अडान छ। ‘मेरो छोरीको हत्यारा पत्ता नलागेसम्म धर्ना बसिरहन्छौं’, यज्ञराजले भने, ‘मेरो प्राण गए पनि न्याय नपाउन्जेल यहाँबाट उठ्दिनँ।’ योखबर आजको नागरिक दैनिकमा छ ।