दुखत खबर डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा अर्को दुर्घटना भएको छ ।

दार्चुलामा मंसिर ७ मिनिबस दुर्घटना, २ को मृत्यु, १९ घाइते

 सडकबाट करिब ३ सय मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको मिनिबस ।  डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा मिनीबस दुर्घटना भएको छ ।

 

मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

 

नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले दुर्घटनाको पुष्टि गर्दै ५५ वर्षीय अनील पाल र अर्का एक पहिचान नखुलेका व्यक्तिको घटनास्थलमै ज्यान गएको जानकारी दिएका छन् । मृतक पाल भारतीय नागरिक हुन् ।

 

दुर्घटनामा १९ जना घाइते छन् । तीमध्ये ४ को जिल्ला अस्पतालमा र बाँकी १५ को गोकुलेश्वर अस्पताल उपचार भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।

 

बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । बस दुर्घटना भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए । सडकबाट करिब ३ सय मिटर तल खसेको बस क्षतविक्षत छ ।

 

बिहीबार मात्रै डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । डा. के आई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।