आगलागी हुँदा ३० घर जलेर नष्ट

गलकोट, मंसिर ९ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए ।

ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।

 

शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो ।

 

ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो ।

 

“ढोरपाटनमा चिसोका कारण तल झरेपछि कोही छैनन्,” स्थानीयवासी इन्द्र शाहीले भने “स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेका छौँ स्थानीय आएपछि भएको क्षतिको विवरण आउने छ ।

 

नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए ।

 

स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने थापाले बताए । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने बताएको छ ।रासस