पुस २८ देखि नेविसङ्घको १२औँ महाधिवेशन

काठमाडौँ, मङ्सिर १२ । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ ।

नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताउनुभयो ।

 

कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने र पुस २८ देखि ३० गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने नेविसङ्घले जनाएको छ ।

 

तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समिति स्वतः भङ्ग हुने र महाधिवेशन भाग लिन नपाउने नेविसङ्घले जनाएको छ । अध्यक्ष महरले निर्वाचन सम्पन्न गर्नका लागि बुधबारसम्म सबै जिल्ला तथा क्याम्पसमा प्रतिनिधि खटाइसक्ने जानकारी दिनुभयो ।

 

नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारीले सशक्त नेविसङ्घ भए मात्र काङ्ग्रेस बलियो हुने भन्दै काङ्ग्रेस बलियो बनाउनका लागि नेविसङ्घको महाधिवेशन आवश्यक रहेको उल्लेख गर्नुभयो । “महाधिवेशन गरे मात्र नेविसङ्घ सशक्त रुपमा अगाडि बढ्न सक्छ,” उहाँले भन्नुभयो । व्यवस्थित अधिवेशन सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यक रहेको उहाँको भनाइ थियो ।

 

नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठी सङ्गठनलाई चुस्तदुरुस्त बनाउनका लागि महाधिवेशनले सहयोग पुग्ने बताउनुहुन्छ । यसअघि कात्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको समय तोके पनि विधान र उमेरहद विवादका कारण नेविसङ्घको महाधिवेशन हुन सकेको थिएन । रासस