नयाँ प्रविधिसँगै घुस खाने नयाँ तरिका

       शोभा जिसी

नवलपरासी, मंसिर १२ । मालपोत कार्यालय नयाँ प्रविधि अर्थात अनलाइनबाट फारम भरिने काम शुरु भएपछि मालपोत कार्यालयमा घुस लिनेदिने क्रम रोकिएला भनिए पनि त्यो नयाँ तरिकाले विकास भएको छ । अन्य काममा अन्य विधि अपनाए पनि अनलाइनमा फारम भर्दादेखि सबै काममा कम्प्युटर प्रविधि अनाएपछि सेवाग्राहीलाई काम ढिलो भएको बाहानामा काम छिटो गर्दिन घुस माग्ने गरेको पाइएको छ।

 

कार्यालयसमय सकिए पछि साँझ वा राति काम गर्दिन्छु भन्दै प्रति व्यक्ति १० हजारसम्म घुस माग्ने गरेको तथ्य बाहिर आएको हो।अन्य काम शुरु नगर्दासम्म मालपोत कार्यालय कावासोतीमा सबै काम एकैदिनमा हुने गर्दथ्यो तर अहिले जोकोही पनि ५÷७ दिन धाउनु पर्ने बाध्यता छ।

 

मालपोत कार्यालय कावासोतीको कम्प्युटर शाखामा काम गर्ने कर्मचारीहरुले १० हजारसम्म लिएर राति वा कार्यालय समय सकिएपछि काम गर्न थालेका हुन्। केही दिन अघि अबेरसम्म भित्र के भईरहेको भनेर केही अगुवाले बुझ्न गएपछि कर्मचारीहरु कार्यालयको पर्खालबाट हामफाल्दै बाहिर भागेको स्थानीय एक जनाले बताए।

 

कार्यालय प्रमुख अशोक कुमार भट्टराईले भने उक्त दिन केही काम मात्रै बाँकी रहेकाको सेवाग्राहीको काम गरेका आफूले थाहा पाएको तर, घुस नै लिएको भने थाहा नपाएको बताए । उनले उक्त दिनको घटना पछि कार्यालय बढीमा १५ देखि ३० मिनेट अबेरसम्म मात्र खुल्न दिएको बताए। प्रमुख भन्छन् – त्यो दिनबाट बढीमा साढे चार बजे नत्र सवा ४ बजे नै कार्यालय बन्द गर्ने गरेको छु ।