सामाजिक सुरक्षा योजना : प्रचारमा मात्रै ६७ लाख खर्च


काठमाडौं मंसिर १४ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् ।

प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । ‘बाहिर अफवाहका रूपमा आएजस्तो प्रचार–प्रसारमा करोडौँ करोड खर्च भएको छैन,’ बाँस्कोटाले भने, ‘खर्च भएको रकम अर्थ मन्त्रालयले कोषलाई उपलब्ध गराउने निर्णय गरिएको छ।

 

’ ‘सामाजिक सुरक्षा प्रचारमा ६८ र सम्मलेनमा ५५ लाख खर्च’ शीर्षकमा नागरिक दैनिकले पनि समाचार छापेको छ। ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ, प्रचारप्रसार तथा समारोह व्यवस्थापनलगायतका काम गर्न आवश्यक पर्ने ६७ लाख २३ हजार सात सय ४० रुपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको छ’, मन्त्रिपरिषदको निर्णयमा भनिएको छ। यसैगरी मंसिर १४–१५ गते सञ्चालन हुने युनिभर्सल पिस फेडेरेसनको अन्तर्राष्ट्रिय सम्मेलनमा सुरक्षा र र स्वागतलगायतका लागि ५५ लाख रुपैयाँ खर्च हुने बताइएको छ।। नयाँ पत्रिका दैनिक बाट।