जीफोरएस विश्वको सबैभन्दा ठूलो सुरक्षा कम्पनीमा आक्रमण हुँदा १० को मृत्यु, ११ नेपाली घाइते


एजेन्सी । अफगानिस्तानको काबुलमा बुधवार भएको जीफोरएसको कार्यलयमा भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको बीबीसीले बताएको छ । ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका आफ्ना कर्मचारीका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ । घटनाको जिम्मेवारी तालिबानले लिएको छ ।

अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो । आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएको बताएको छ । अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए।

त्यसपछि दोहोरो गोली हानाहान भएको थियो। घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका थिए। तीमध्ये अधिकांश विदेशी थिए। आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ।

जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो । उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ। पछिल्लो हिंसा राष्ट्रपति अशरफ गनीले तालिबान समूहसँग शान्ति सम्झौताका लागि योजना अघि सारेको केही घण्टामा भएको हो ।

अफगानिस्तानमा कति छन् नेपाली ।

द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य सङ्ख्यामा नेपालीहरू पनि कार्यरत छन्। तीमध्ये कतिपय सुरक्षा क्षेत्रमा संलग्न छन्। यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए।

सो आक्रमणलाई आतङ्कवादी घटना भन्दै नेपाल सरकारले त्यसको भर्त्सना गरेको थियो। वैदेशिक रोजगारीको लागि औपचारिक रूपमा खुल्ला नगरिएको अफगानिस्तानमा नेपाली कति सङ्ख्यामा छन् भन्ने स्पष्ट छैन। बीबीसी नेपाली