प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच हवाई सम्झौतामा हस्ताक्षर

ठमाडौँ,मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोडियाली समकक्षी हुन सेनबीच द्विपक्षीय हित र चासोका विषयमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका क्रममा हुन सेन आज यहाँ आइपुग्नु भएको हो । प्रधानमन्त्री ओली र उहाँका समकक्षीबीच होटल द्वारिकाजमा आज साँझ करीब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफलसमेत भएको थियो ।

 

छलफलमा सहभागी सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार दुई देशको सम्बन्ध आपसी हित र द्विपक्षीय चासो एवं नेपालको शान्ति प्रक्रिया, वर्तमान सरकारको प्राथमिकतालगायत विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओली र उहाँका कम्बोडियाली समकक्षीबीच दुई देशबीच पर्यटन प्रवद्र्धन, तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विविध क्षेत्रबारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो ।

 

छलफलमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको सहभागिता थियो । नेपाल र कम्बोडियाबीच उच्च सरकारी तहमा भ्रमण आदानप्रदानलाई बढावा दिने तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान धारणाका साथ अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो । कम्बोडियाका अधिकांश नागरिकले बौद्ध धर्म मान्ने भएकाले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आजै भएको हवाई सम्झौताले महत्वपूर्ण अर्थ राख्ने विश्वास लिइएको छ ।

 

यस्तै नेपाल र कम्बोडियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने विषयमा समझदारी भएको छ । समझदारीपत्रमा परराष्ट्रमन्त्री ज्ञवाली र कम्बोडियाका उपप्रधान तथा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री पार्क सोख्खेनबीच हस्ताक्षर गर्नुभयो । सो संयन्त्रले दुई देशका साझा चासो र हितका विषयमा साझा धारणा बनाउनेछ ।

 

यस्तै कूटनीतिक तथा सरकारी राहदानी बाहकलार्ई प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौतामा समेत उहाँहरुले हस्ताक्षर गर्नुभयो । प्रधानमन्त्री ओली र उहाँका समकक्षी सेन होटल द्वारिकामा आजै आयोजित रात्रिभोजमा सहभागी हुनुभयो । सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

नेपालले हालसम्म यो सम्झौतासहित विभिन्न ३९ देशसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार यो सम्झौता नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुनेछ ।गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने कम्बोडियाका नागरिकको चाहनालाई हवाई सम्झौताले मद्दत पुर्याउने विश्वास लिइएको छ ।रासस