निर्मला हत्या प्रकरणः बर्खास्त एसपी विष्ट र इन्सपेक्टर भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन


काठमाडौं मंसिर १६। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी सेवाबाट हटाइएका तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन्।

पुनर्वहालीको माग गर्दै भट्टले गत आइतबार र विष्टले मंगलबार मन्त्रिपरिषदमा निवेदन दिएको स्रोतले भन्यो, । निर्मला पन्तको बलात्कारपश्चात् हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरू दुवैलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरुलाई प्रहरी सेवाबाट निष्कासन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेका थिए।

 

गृह मन्त्रालयले कात्तिक ८ गते एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो। आफूहरुमा अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।

 

हटाएको ३५ दिनभित्र पुनर्वहालीको लागि मन्त्रिपरिषद्मा निवेदन दिनुपर्ने प्रावधानअनुसार दुवैले निवेदन दिए हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरू सेवामा पुनर्वहाली नभए अदालतसमेत जाने तयारी भएको विष्ट र भट्ट निकट स्रोतले भन्यो। ’मन्त्रिपरिषद्को निर्णय के हुन्छ हेरौँ। उनीहरू पुनर्वहाली नहुने आधार केही पनि छैन। आशा छ, पुनर्वहाली हुन्छन्। यदि भएन भने त्यसको विकल्प भनेको अदालत छँदै छ, त्यसका लागि पनि तयारी गर्दैछौैँ,’ स्रोतले भन्यो।

 

गत साउन १० गते पन्त साथी रोशनी बमको घरमा गएकी थिइन्। त्यसपछि वेपत्ता भएकी पन्तको भोलिपल्ट ११ गते उखुबारीमा शव भेटिएको थियो। घटनाको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो। पछि एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट समेत हटाइएको थियो।