मोड्रिचले जिते बालोन डि’ओर ,तोडियो मेसी–रोनाल्डोको साम्राज्य


एजेन्सी । रियल म्याड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडी बन्दै प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन् । सोमबार राति फ्रान्सको राजधानी पेरिसमा भएको औपचारिक समारोहमा मोड्रिकलाई अवार्ड दिइएको हो।

यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए। उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीमध्ये मोड्रिकले सबैभन्दा धेरै ७ सय ५३ मत प्राप्त गरे। दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले ४ सय ७८ र फ्रान्सका एन्टोइन ग्रिजम्यानले ४ सय १४ मत प्राप्त गरे। गत वर्षका विजेता रोनाल्डो दोस्रो भए। बार्सिलोनाका कप्तान मेसी पाँचौँ भए।

 

एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान तेस्रो तथा पिएसजीका केलियन एमबाप्पे चौथो स्थानमा रहे। दुवै फ्रान्सेली खेलाडी हुन् र उनीहरुले गएको जुलाईमा विश्वकपको उपाधि जितेका थिए। फ्रेन्च फुटबल म्यागजिनले हरेक वर्ष एकजना उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको थियो। मोड्रिच रोनाल्डोले र मेस्सी सर्वोत्कृष्ट खेलाडी रहेको पनि बताए। उनले आफ्नो कप्तानीमा रहेको क्रोयशियालाई पहिलोपटक विश्वकप फुटबलको फाइनलमा र्पुयाएका थिए। मोड्रिकले यस वर्षको फिफा वर्ष खेलाडी अवार्ड र युइएफए वर्ष खेलाडीको अवार्ड पनि जितिसकेका छन् ।

 

बालोन डी’ओरमा यो वर्ष लिभरपुल तथा इजिप्टका मोहम्मद सालह छैटौँ, रियल म्याड्रिड तथा फ्रान्सका राफायल भाराने सातौँ, चेल्सी तथा बेल्जियमका इडन हजार्ड आठौँ, म्यानचेस्टर सिटी तथा बेल्जियमका केविन डी ब्राउन नवौँ र टोटनह्याम तथा इंग्ल्याण्डका ह्यारी केन दशौँ स्थानमा रहे। फ्रेन्च फुटबल म्यागजिनले सन् १९५६ देखि प्रदान गर्दै आएको अवार्ड सन् २०१० देखि २०१५ सम्म फिफासँगको सहकार्यमा फिफा बालोन डी’ओर अवार्डका रुपमा वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दे आएको थियो। तर २०१५ यता भने सहकार्य तोडियो, फिफा र बालोन डी’ओरले छुट्टाछुट्टै अवार्ड दिन थाले।