समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुहुँदैन : महानिरीक्षक खनाल


काठमाडौँ   १८ मंसिर।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले मंगलबार आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उनले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताए । “अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,”–उनले भने ।

v
महानिरीक्षक खनालले गत महीना प्रहरीले समाजमा हुने अपराध नियन्त्रण गर्न ‘प्रहरी–समुदाय साझेदारी कार्यक्रम’ ल्याएको भन्दै यसको सफल कार्यान्वयन भए समाजमा हुने जुनसुकै प्रकृतिका हिंसामा कमी आउने विश्वास व्यक्त गरे । उनले प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको बताउँदै यसले मात्र अनुसन्धान पूरा नहुने स्पष्ट पार्नुभयो । “९५ प्रतिशत नतिजा दिने गरी प्रहरीले काम गर्नुपर्छ,”– महानिरीक्षक खनालले भने ।

 

उनले प्रहरीबाट हुने हरेक किसिमका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिएको बताए । संयुक्त राष्ट्र सङ्घीय मिसनमा प्रतिनिधित्व हुने प्रहरी जनशक्तिमा महिलाको मात्र छुट्टै्र मिसनको व्यवस्था गर्ने सोच प्रहरीले अगाडि बढाएको उनको भनाइ थियो ।

 

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले धनी र इज्जतदार परिवारबाटै महिला तथा बालबालिकामाथि हिंसा हुने गरेको भन्दै यसको रोकथाम गर्न व्यक्ति स्वयं सुध्रिनुपर्ने बताए । उपप्रमुख खड्गीले स्थानीय तहको निर्वाचनसँगै ९४ प्रतिशत महिला उपप्रमुखमा चुनिएर आएको बताउँदै यसको रोकथामका लागि महिला नै जागरुक हुनुपर्ने उल्लेख गरे ।

 

एशियाली विकास बैँक नेपालको तर्फबाट महिला तथा बालबालिकाको क्षेत्रमा लामो समय काम गरेका कार्यक्रम संयोजक सुलोचना श्रेष्ठले महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा ८ वर्षदेखि एडिबीले नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताए । “सन् २०१० मा जुम्लाका ३० गाउँ विकास समितिबाट शुरु भएको यो अभियान अहिले नेपालका २० जिल्लामा सञ्चालित छ,”–उनले भने , “न्यायमा पहुँच प्रदान गर्न यो कार्यक्रम ७७ वटै जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।”

 

प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्की र प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले प्रहरीले सीमित स्रोतसाधनकाबीच पनि महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा रोकथाममा प्रशस्त काम गरेको उल्लेख गरे । दुई दिनसम्म चल्ने गोष्ठीमा ७७ वटै जिल्लाका प्रहरी कर्मचारीको सहभागिता रहेको छ ।