चार जना लागुऔषधसहित पक्राउ


कावासोती  मंसिर १९।  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।

 

उनीहरुका साथबाट नुफिन ५५ एम्पुल, फेनारगन ५५ एम्पुल, डाइजेपाम सेरिजेक ५५ एम्पुल, फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट र नाइट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

 

यसैगरी लु१ख ६३९० नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा कावासोती–८ बाट प्रहरीले म्याग्दी साबिक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ। उनको साथबाट फेनारगन ४३ एम्पुल, नुफिन ४३ एम्पुल, डाइजेपाम सेरिजेक ४३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ।

 

पक्राउ परेकालाई लागुऔषध ओसारपसारविरुद्धको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश थापाले बताए।