नेकपाका शीर्ष नेताबीचमै कित्ताकाट


काठमाडौं मंसिर २३ । सांगठानिक एकीकरणलाई लिएर सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थासम्म आइपुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।

प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्धय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिवारको सचिवालय बैठकमा सहभागी हुनुभएन । तर उहाँहरू बेगर बसेको उक्त बैठकले आगामी २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

 

समयमा बैठक नबसेकाले बाहिरिएको बताउदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो–१५ मिनेटसम्म बैठक सुरु नभएपछि स्वतः नबस्ने कार्यविधि बनाइएको छ । अब बैठक वालुवाटारमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ ।’ उहाँले विशेष कारणवशबाहेक अन्य समयमा पार्टी कार्यालयमा नै बैठक बस्दा उपयुक्त हुने बताउनुभयो ।

 

चारजना सचिवालयका सदस्य बाहिरिएपछि अध्यक्षद्धय ओली, र प्रचण्ड, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापामात्रै बस्नुभएको थियो । सचिवालय बैठकबाट पारित भएको प्रदेश कमिटीलाई पूर्णता दिने अन्तिम निर्णय स्थायी समिति बैठकबाट गर्नुपर्ने सहमति भए पनि अध्यक्षयद्ध ओली र प्रचण्डको निर्देशनमा महासचिव पौडेलले नामावली सार्वजनिक गरेपछि नेकपाभित्र अर्को विवाद सृजना भएको छ ।

 

बैठक मंसिर २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णण भएको बैठकपछि महासचिव विष्णु पौडेलले बताउनुभयो ।अध्यक्षद्धयबीच नेकपाका एक पूर्व सासदको उपचारबारेको छलफल केही लम्बिएपछि चार नेता रिसाएर हिडेको वालुवाटार स्रोतले जनायो ।

 

स्रोतका अनुसार दुई अध्यक्ष क्यान्सर रोगबाट पीडित तत्कालीन माओवादी केन्द्रकी पूर्व सभासद तथा नेकपाकी नेतृ मणी खम्बुसँग भेटघाटमा रहेको समयमा कुरा नै नबुझि बाहिरएका हुन् । गत मंसिर १२ गते बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको थियो ।  आजको नेपाल समाचारपत्रबाट  ।