निर्मला हत्या प्रकरण : निर्दोषलाई फसाउन खोज्दा उल्टै फसे आईजीपी सर्वेन्द्र खनाल ‘बर्खास्त’ हुनै लागेका आईजीपीको खतरनाक प्रपञ्च

काठमाडौं मङ्सिर २४।कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी हत्यारालाई सार्वजनिक गर्न नसकेको विषय सरकार र प्रहरीका लागि चुनौतीपूर्ण बनेको छ । प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालको असक्षमता निर्मला प्रकरणमा झल्किएको छ ।

 

साउन १० गते भएको हत्याको स्पष्ट चित्र अझै सार्वजनिक हुन सकेको छैन । निर्मलालाई न्याय माग्दै सडकमा जनदबाब चलि रहेका बेला मंसिर १९ गते एकाएक खबर आयो – निर्मला हत्या प्रकरणमा शंकास्पद एक युवा काठमाडौंबाट पक्राउ परे । हत्या प्रकरणमा थुप्रै युवा पक्राउ पर्ने र छाड्ने क्रम चलि रहेकै थियो । तर प्रहरीको लामो अनुसन्धान पछि विशेष महत्त्वका साथ ती युवा पक्राउ परेको सूचना आईजीपीकै सचिवालयबाट चुहाइएको थियो।

 

आशा जाग्यो – प्रहरी नेतृत्वबाटै अभियुक्त पक्राउ गरेको सूचना आउनु सामान्य होइन । अपराधी पक्राउ परे । त्यो दिन पक्राउ परेका अभियुक्तको नाम सार्वजनिक भएन । अर्को दिन पक्राउ परेका अभियुक्त प्रदिप रावल भएको खुल्यो । पर्दा थप खोलिँदै गए – प्रदिप रावलले हत्या गरेको स्वीकार्दै बयान दिए, रावललाई सघाउने थप दुई जना कञ्चनपुरमा पक्राउ परे । हत्याराहरूले निर्मलालाई बलात्कार र हत्या गर्दाको घटनाक्रम पनि सुनाए भनियो ।

 

सूचना चुहाउने काम आईजीपी सचिवालयमा मात्रै सीमित रहेन । सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नै निर्मला पन्तका हत्यारा सार्वजनिक गर्ने तयारी भइ रहेको र प्रक्रिया मिलाएर सार्वजनिक गरिने बताए। आईजीपी सर्वेन्द्र खनालले पत्रकारलाई मात्रै होइन, सरकारलाई पनि निर्मला प्रकरणमा ‘सुखद’ सञ्चार गरि सकेका थिए।

आईजीपीको प्रपञ्च

निर्मलाका हत्यारा सार्वजनिक हुने सफल समय पर्खेर बसेका नेपाली त्यति बेला निराश भए, जतिबेला प्रदिप रावल र विशाल चौधरीको हत्या घटनामा संलग्नता नहुन सक्ने खबर आए । यो खबर सार्वजनिक हुँदासम्म प्रहरी स्रोत हत्यारा प्रदिप नै हो भनेझै सूचना चुहाइ रहेको थियो । आधिकारिक स्रोत मार्फत् सूचना नआए पनि आईजीपीको सचिवालय र निकट स्रोतले पत्रकारलाई अनुसन्धानबारे अपडेट दिइ रहेको थियो । राष्ट्रिय अनुसन्धान विभाग ९सीआईबी० मुख्यालयमा आईजीपी खनाल आफैं गएर प्रदिपको बयान लिएको र अपराध स्वीकारेका सूचनासम्म सार्वजनिक गरिए।

 

डीएनएको रिपोर्ट नआउँदै, संलग्नताको स्पष्ट आधार नहुँदै प्रहरीले सूचना चुहाइ रहेको थियो । हिरासतमा रहेका प्रदिपलाई चरम यातना दिएर अपराध कबुल गर्न बाध्य पारियो कि रु प्रहरीबाट कुटाइ खानु भन्दा त कबुल गर्न उपयुक्त सम्झे होलान् प्रदिपले । स्रोतका अनुसार आईजीपी खनालले आफैं बयानमा सक्रिय भएर प्रदिपलाई अपराध स्वीकार्न बाध्य पारे ।

 

प्रदिप रावल र विशाल चौधरीले मिलेर सामुहिक बलात्कार र हत्या गरेको सूचना आएपछि सरकारका मन्त्री समेत आईजीपीको सूचना विश्वस्त भएका हुन सक्छन् । तर निर्मलाको बलात्कार भएको दिन साउन १० गते प्रदिप र विशाल कुुखुरा चोरीको आरोपमा प्रहरी हिरासतमा रहेको तथ्य सार्वजनिक भए पछि आईजीपी सर्वेन्द्र खनालको प्रपञ्च प्रष्ट भयो । आईजीपीले दोषी करार गराउँदै अनुसन्धान गरि रहेका प्रदिप र विशालमाथि निलम्बित डीएसपी अंगुर जिसी नेतृत्वको सीआईबी टोलीले उहिल्यै अनुसन्धान गरेर कुनै संलग्नता नदेखिए पछि छाडेका थिए । तर आईजीपी खनालले उनैलाई पक्राउ गरेर किन अपराधी करार गर्न खोजे?

 

यस अघि कञ्चनपुरमै तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र सीआईबीका डीएसपी अंगुर जिसीले दिलिपसिंह विष्टलाई जबर्जस्ती मुख्य अभियुक्त बनाउँदै सार्वजनिक गरेका थिए । दिलिपले समेत अपराध स्वीकारेको भनिएको थियो । तर अन्तिममा निर्मलाको भजाइल स्वावमा मिलेको सुक्रकिटसँग दिलिपको डीएनए नमिलेको भन्दै उनलाई छाडियो ।

 

यसरी जबर्जस्ती दिलिपलाई अपराधी बनाउन खोजेको भनेर आक्रोशित सर्वसाधारणले आन्दोलन गरे पछि एसपी डिल्लीराज विष्ट हाल प्रहरी सेवाबाट निष्कासन भएका छन् । संवेदनशील बनेको निर्मला हत्या प्रकरणमा आईजीपी सर्वेन्द्र खनालले पनि प्रदिपले अपराध स्वीकारेको भनेर प्रचार गराउँदै किन अपराधी बनाउन खोजे ?

बर्खास्तीबाट बच्ने उपाय ?

आईजीपी खनालले प्रदिपबारे सूचना चुहाउनु अघि अथवा प्रदिप पक्राउ पर्नुअघि नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव, आईजीपी खनाल र सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठक गृह मन्त्रालयमा बसेको थियो । स्रोतका अनुसार बैठकमा निर्मलाका हत्यारा पत्ता लगाउन नेपाली सेना, राष्ट्रिय अनुसन्धान लगायत सुरक्षा निकाय र स्वतन्त्र विज्ञहरू सम्मिलित विशेष टोली गठन गर्ने चर्चा चल्यो । त्यतिबेला आईजीपी झस्किए ।

 

निर्मला हत्या अनुसन्धानमा प्रहरी बाहेकका सुरक्षा निकायको समेत संलग्नता हुने भए पछि त्यो समिति आईजीपी मातहत हुने भएन । सँग(सँगै आईजीपी खनालको नेतृत्वले अपराधी पत्ता लगाउन नसकेको गृह मन्त्रालयको निष्कर्ष समेत पुष्टि हुने भयो । यसरी विज्ञ समिति बनाउने प्रस्तावमा आईजीपी सकारात्मक देखिएनन् । यस सँगै सरकारले आफूलाई बर्खास्त गर्न सक्ने सूचना समेत आईजीपी खनालले पाए। त्यस पछि आईजीपी खनाल तत्काल नतिजा देखाउनु पर्ने दबाबमा परे ।

 

आफू असक्षम ठहरिने र बर्खास्त हुन सक्ने देखे पछि आईजीपी एक्सनमा उत्रिए । तर एक्सन नक्कली सावित हुँदै गएको छ । प्रदिप र विशाललाई अपराधी बनाएर आईजीपी सर्वेन्द्र खनाल ‘हिरो’ बन्न खोजेको आशंका बलियो हुँदै गइ रहेको छ । तर आफू हिरो बन्न निर्दोषलाई फसाउन खोज्ने नियत चाहिँ खतरनाक संकेत हो ।

 

प्रदिप र विशाललाई फसाउन सकिने देखे पछि आईजीपीको सचिवालयले उनीहरूको समूहका अर्का चन्द थरका व्यक्ति फरार रहेको र चन्द थरका व्यक्तिको डीएनए मिल्न सक्ने भनेर प्रचार गरि रहेको छ । प्रहरी नेतृत्वमा यस्ता खतरनाक प्रपञ्च रच्ने व्यक्ति रहिरह्यो भने अरु कति धेरै निर्दोषले फस्नु पर्ने हो भन्न सकिन्न।