भाजपालाई पछाडि पार्दै कंग्रेसको अग्रता

काठमाडौं, मंसिर २५ । भारतका पाँचवटा राज्यमा भएको निर्वाचनको मतगणना आज विहानैदेखि शुरु भएको छ।राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरमको प्रारम्भिक मत गणनामा सत्तारुढ भारतीय जनता पार्टी भाजपा लाई पछाडि पार्दै कांग्रेस आइले धेरै ठाउँमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 

प्रारम्भिक मत परिणामबाट भाजपाको ‘कांग्रेसमुक्त भारत’ नारा असफल हुने आंकलन गरिएको छ। पछिल्लो नतिजा अनुसार राजस्थान र छत्तीसगढमा कांग्रेसले भाजपालाई पछाडि पारेको छ भने मध्यप्रदेशमा कडा प्रतिस्पर्धा देखिएको छ। राजस्थान र छत्तीसगढमा कांग्रेसले सरकार बनाउने सम्भावना बढेको छ।

 

मध्यप्रदेशमा २३० सिटका लागि भएको निर्वाचनमा सत्तारुढ दल भाजपा ९७ स्थानमा अगाडि छ। त्यहाँ कांग्रेस ११७ स्थानमा अगाडि रहँदा अन्य दल १६ स्थानमा अगाडि छन्। सरकार बनाउँन ११६ सिट आवश्यक पर्छ।

 

यस्तै, ९० सिट रहेको छत्तीसगढमा कांग्रेस ५७ स्थानमा अगाडि रहँदा भाजपाले २६ स्थानमा अग्रता लिएको छ। अन्य दल ७ स्थानमा अगाडि छन्। छत्तीसगढमा सरकार बनाउनका लागि ४६ सिटको आवश्यकता पर्छ।

 

२०० सिट रहेको राजस्थानमा कांग्रेसले १०१ स्थानमा अग्रता बनाएको छ। सन् २०१३ को निर्वाचनमा १६३ सिट जितेको भाजपा यसपटक ८५ स्थानमा मात्रै अगाडि देखिएको छ। सरकार बनाउन १०१ सिट चाहिन्छ।

 

तेलंगानामा भने टिआरएस अगाडि रहेको छ । ११९ सिटमध्ये टिआरएस ९२ स्थानमा अगाडि रहँदा कांग्रेस १६ तथा भाजपा ३ स्थानमा अगाडि छन्।