स्थानीय र प्रदेशमा जान कर्मचारी आकर्षित

काठमाडौं, मंसिर २६ । सरकारले अध्यादेशबाट कर्मचारी समायोजन गर्ने तयारी गरेसँगै स्थानीय र प्रदेश तहमा जान निजामती कर्मचारीमा आकर्षण बढेको छ।

 

 अध्यादेशले निजामती कर्मचारीलाई स्थानीय तह र प्रदेशमा समायोजन भई जाँदा खाईपाई आएको तलबको दुई ग्रेड थप गर्नेदेखि तहवृद्धिलगायत प्याकेज अगाडि सारेपछि आकर्षण देखिएको हो।

 

निजामती कर्मचारीलाई तहगत रूपमा रूपान्तरण गर्दा पाँच वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका नायब सुब्बालाई माथिल्लो पदमा बढुवाका लागि आवश्यक पर्ने शैक्षिक योग्यता हासिल गरेको छ भने त्यस्ता कर्मचारीलाई अधिकृत स्तरको छैटौँ तह बनाउने प्रस्ताव गरिएको छ।

 

यसैगरी पाँच वर्षभन्दा कम सेवा अवधि भएका शाखा अधिकृतलाई अधिकृत स्तर सातौँ तह बनाई खाईपाई आएको तलबमा दुई ग्रेड थप गर्ने र पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेका शाखा अधिकृतलाई अधिकृतस्तर आठौँ तह बनाउने व्यवस्था अध्यादेशमा गरिएको छ।

 

त्यस्तै पाँच वर्षभन्दा कम सेवा अवधि उपसचिव तहगत रूपमा जाँदा अधिकृत स्तर नवौँ तह बनाई खाईपाई आएको तलबको दुई ग्रेड थप गरिने भएको छ। त्यसैगरी पाँच वर्ष वा सोभन्दा बढी सेवा अवधि भएका उपसचिवलाई अधिकृतस्तरको ११औँ तह बनाई खाईपाई आएको तलबमा दुई ग्रेड थप गरिनेछ। आजको गोरखापत्र दैनिकबाट।