मुआब्जाको मापदण्डले विकास निर्माणमा बाधा : गृहमन्त्री थापा


काठमाडौं मंसिर २७। गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणका काम अगाडि बढाउन जग्गाको मुआब्जा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन्। बिहिबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिमा फास्ट ट्र्याकको जिरो किलो खोकना र बुङमतिमा जग्गा मुआब्जाबारेको छलफलमा बोल्दै मन्त्री थापाले मुआब्जाका कारण विकास योजनामा बाधा आएकाले त्यसको समस्या समाधान गर्न सकिने बताएका छन् ।

’अहिलेको नीति अनुसार न्यायोचित भएन भन्ने कुरा आएको छ, मापदण्ड बदल्नुपर्छ’, उनले भने, ’मुआब्जाबारेको अहिलेको मापदण्ड बदलेर जानुपर्छ, जनताका समस्या समाधान गर्नुपर्छ, त्यसो भएन भने अहिलेको मापदण्डअनुसार नीतिगत दुविधामा छौँ।

 

जनताले वृद्धि गर्नुपर्छ भनेर देशभरबाट भनिरहेका छन् तर हामी केही गर्न सक्दैनौं।’ उक्त विषयमा फास्ट ट्र्याक आयोजनाबारे समितिमा छलफल गर्न उपप्रधान तथा रक्षामन्त्री, आयोजना हेर्ने सेनाका अधिकारी लगायत समितिमा आएका छन्।

 

सो जग्गाको मात्रै मुआब्जा वृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा वृद्धि गर्नुपर्ने भएकाले पनि यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले खोकना र बुङमतीको जग्गाको मुआब्जा वृद्धि गर्न सरकारले तोकेको मापदण्ड मै पुनर्विचार गर्नुपर्ने पनि स्मरण गराए ।