सचिवालय वैठक वहिस्कार गरेका नेताहरु र नेकपा अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता


काठमाडौं  मंसिर २९।   नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय वैठक वहिस्कार गरेका नेताहरु र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । नेकपाको सचिवालय र स्थायी समितिको वैठकअघि प्रचण्डले चारै नेताहरुसंग सामुहिक भेटवार्ता गरेका हुन् ।

अध्यक्ष प्रचण्डको पहलमा वैठक शनिबार बिहान नेता बामदेव गौतमको भैसेपाटीस्थित निवासमा वसेको हो । वैठकमा नेता गौतमसहित माधव नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

 

पार्टी स्थायी समिति बैठकअघि भएको यस छलफललाई सहमतिको प्रयासको रुपमा हेरिएको छ । प्रचण्डले चारै नेताहरुले राखेका माग सुनुवाई गर्ने भन्दै सरकार सफल पार्न र पार्टीलाई एकतावद्ध गर्न सवैको सहयोग हुनुपर्ने बताएका थिए । नेताहरुले सरकार पार्टीबाट निर्देशित हुनुपर्ने पार्टीलाई व्यक्तिगत लहडमा भन्दा विधि र नियमअनुसार चलाउनुपर्ने धारणा राखेका थिए ।

 

जवाफमा अध्यक्ष प्रचण्डले चार नेताहरुको माग जायज भएको स्वीकार गर्दै पार्टीलाई व्यवस्थित ढंगले अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । चारै नेताले लामो समयदेखी राख्दै आएको नेकपाको स्थायी समिति बैठक आज बस्दैछ । त्यसअघि पार्टीको सचिवालय बैठक बस्नेछ ।

 

बैठकमा पेस गर्न दुई अध्यक्षले संयुक्त रुपमा दस्तावेज तयार पारेका छन् । नेता बामदेव गौतमले पनि छुट्टै दस्तावेज तयार पारेको एक नेताले बताए ।