भारतीय कांग्रेसका पूर्व सांसदलाई जन्मकैद, आत्मसमर्पण गर्न अदालतको आदेश


एजेन्सी । भारतीय कांग्रेसका एक जना पूर्व सांसदलाई दिल्ली हाइकोर्टले जन्म कैद सुनाएको छ । हाइकोर्टले काँग्रेसका पूर्व सांसद सज्जन कुमारलाई जन्म कैद सुनाएको हो । सन् १९८४ को सिख दंगा मामिलामा दोषी ठहर गर्दै सज्जन कुमारलाई जन्मकैदसंगै पांच लाख रुपयौं जरिवानाको फैसला सुनाएको हो । ३४ वर्षपघि भएको घटनाका दोषी सज्जन कुमारलाई ३१ डिसेम्बरसम्म आत्मसमर्पण गर्न आदेश दिएको छ ।

अप्रिल २०१३ मा दिल्लीको तल्लो अदालतले सन् १९८४ को सिखबिरोधी दंगाको दौरान दिल्लीको छावनी क्षेत्रमा पाँच सिखको हत्या मामिलामा सज्जन कुमारलाई सबै आरोपबाट सफाई दिएको थियो । यस फैसलाबिरुद्ध केन्द्रीय जाँच ब्युरो सीबीआईले दिल्ली हाइकोर्टमा अपिल गरेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार न्यायाधीशद्वय एस मुरलीधर र विनोद गोयलले यस मामिलाको सुनवाई २९ अक्टुबरमै पूरा गरेका थिए र फैसला सुरक्षित राखेका थिए ।

 

सन् १९८४, ३१ अक्टुबरमा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनको सुरक्षाकर्मीले हत्या गरेपछि सिख विरोधी दंगा भड्किएको थियो । यो मामिला त्यही दंगाका दौरान दिल्लीको छावनी क्षेत्रमा पाँच सिख व्यक्तिहरुको हत्यासँग जोडिएको छ । दिल्लीको राजनगरमा केहर सिंह, गुरप्रीत सिंह, रघुविन्दर सिंह, नरेन्द्र पाल सिंह र कुलदीप सिंहको हत्या गरिएको थियो ।

 

यसमा उजुरीकर्ता तथा प्रत्यक्षदर्शी जगदीश कौर केहर सिंहकी पत्नी र गुरप्रीत सिंहकी आमा थिइन् । न्यायधीश जीटी नानावती आयोगको सिफारिसपछि सन् २००५ मा सज्जन कुमार र अन्य अभियुक्तविरुद्ध मुद्दा दर्ज गरेका थिए । सीबीआईले अभियुक्तविरुद्ध जनवरी २०१० मा दुई चार्ज्सिट दायर गरेको थियो । यसअघि दिल्ली प्रहरीले दङ्गाको जाँच गरेको थियो ।