‘नेपाल आइडल’ बन्यो जुवाको अखडा ! करोडौं असुल्ने काइदा

काठमाण्डौ ,पुस २ ।  नेपालीगायन क्षेत्रको सर्वाधिक पुरस्कार राशीको रियालिटी शो नेपाल आइडलका नाममा सर्वसाधारणबाट करोडौ रुपैयाँ असुल्न थालिएको सर्वसाधारणले गुनासो गरेका छन् । कला पारखीहरूले स्वच्छ, स्वस्थ मनले मूल्यांकन गरेर आफूलाई मनपर्ने प्रतियोगीलाई जिताउन भोटिङ गर्नुपर्नेमा नेपाल आइडललाई संचालकहरूले लुटको अखडा बनाएर अनेक बहानामा सर्वसाधारणबाट गैरकानूनीरुपले करोडौ रुपैयाँ असुल्न थालिएपनि सरकारको ध्यानाकर्षण अझै हुनसकेको छैन । ‘इलोक्ट्रनिक पेमेन्ट सिस्टम प्रालि’का देशभर रहेका सयौं मेसिनहरूबाट करोडौ रुपैयाँ अपचलन हुनथालेको स्रोतले दाबी गरेको छ ।

यो इलोक्ट्रनिक पेमेन्ट सिस्टम प्रालि नामको निजी कम्पनीलाई रकम उठाउने अधिकार कुन सरकारी निकायले किन दियो रु यस कम्पनीको आर्थिक क्रियाकलापहरू करकादायरमा छन् कि छैनन् भन्न प्रश्न उठेको छ । देशका विभिन्न शहर र काठमाण्डौका गल्लीहरूमा रहेका ‘इ–मेसिन’हरूमार्फत एकजनाले न्यूनतम एक हजार रुपैयाँमा एक जनाप्रतियोगीलाई पाँच सय भोट हाल्नपाउने व्यवस्था छ ।

 

मन परेको प्रतियोगीलाई भन्दा पनि चार जना नेपाल आइडलका मध्ये आफ्नालाई जिताउन अहिले देशभर रहेका ती मेसिनहरूमा मानिसहरू धाएर लाखौलाख खर्च गर्दैछन् । अन्नपूर्ण मिडयाद्वारा सञ्चालित एपी–वान टेलिभिजनको अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शोको नेपाली संस्करण हो नेपाल आइडल । गतबर्ष कतारमा ग्राण्ड फिनाले भएको नेपाल आइडलको पहिलो सिजनमा ठूलो आर्थिक गडबडी गरिएका खबरहरू बाहिर आउदा विवाद उत्पन्न भएको थियो । प्रथम नेपाल आइडल बनेका बुद्ध लामाले जितेको कार नै पाउन धौ स् धौ परेको थियो ।

 

नेपाल आइडलको दोस्रो सिजन चलिरहेको छ । पहिलो सिजनमा बुद्ध लामाले बाजीमारे । तर पछि पुरस्कारको बिषयमा थुप्रै बिबादहरू बाहिर आए । बुद्ध लामाले कार पाए तर कार प्राप्तगर्न उनलाई करीब ८ लाख रुपैयाँ तिराइयो । बुद्धका बुवाले समेत आयोजकले छोरालाई भने अनुसारको रकम नदिएर झुक्याएको बताएका थिए । पहिलो सिजनमा एसएमएस भोटिङबाट संकलन भएको करोडौ रुपैयाँ र कतारको दोहामा ग्राण्ड फिनालेका बेला टिकट संकलनबाट जम्मा भएको रकमका बिषयमा पार्टनर आयोजकहरूबीच झगडा समेत भएको थियो ।

 

पहिलो सिजनबाट भोटिङमा करोडौ रुपैयाँ उठेको देखेका नेपाल आइडलका पार्टनरहरूले दोश्रो सिजनमा पनि बिभिन्न माध्यमद्वारा देशभरीबाट करोडौ रुपैयाँ असुल्ने तरिका निकालेर अन्तिम राउण्डमा चार जनालाई अघि सारेका छन् । अहिले यी चारजनाका लागि देशभर रहेका इ मेसिनहरूबाट पचासौं लाख होइन करोडौं रकमको ओहिरो लागिरहेको छ ।

मानिसहरूमा विभिन्न किसिमका प्रतिभा हुन्छन् । केहीसंग त अद्भूत प्रतिभा पनि हुन्छन् । प्रतिभाहरूको बीचबाट अद्भूत प्रतिभा उजार गर्ने उद्देश्य पवित्र हुनुपर्ने हो तर देशका दुरदराजबाट आएका प्रतियोगीहरूको समधूर आवाजलाई धनआर्जन गर्ने लुटतन्त्रको माध्यम बनाएकोमा सर्वसाधारणको गुनासो रहेको छ ।

प्रतियोगीहरूलाई नेपाल आइडलको उपाधी जित्नका लागि आयोजकहरूले तनाव दिइरहेको खबर पनि छ । अहिले नेपाल आइडल सिजन टु मा बिक्रम बराल, सुमित पाठक, रवीओड र अस्मिता अधिकारी गरी चार प्रतियोगी प्रतिस्पर्धामा छन् ।

यी प्रतियोगीहरूलाई बढीभन्दा बढी भोट गर्न ऋण काढेर भोट बढाउने बाध्यता आइपरेको छ । प्रिय फ्यान बनाउने, भोट लिने भन्दा पनि भएभरका नातागोता र आफन्तलाई भोटिङ गर्नका लागि बाध्य पारिदैछ । आयोजकहरूले यही मौकामा करोडौं कमाउन प्रतियोगिता लम्ब्याएर प्रतियोगीहरूलाई निकै नै तनावमा पारेको उनीहरूका आफन्तले बताएका छन् ।

आयोजकको दवावले प्रतियोगीहरू दिनरात खटिनु पर्दा उनीहरूको स्वास्थ्यमा पनि गंभीर असर परेको निकटस्थको गुनासो छ । तर उनीहरूको गुनासो कस्ले सुन्ने रु आयोजक जसरी पनि करोडौ रुपैयाँ कमाउने धाउन्नमा छ । साँघु साप्ताहिकबाट।