सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव

डोटी, पुस ०३ । सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव भएको छ। विगतमा यो वर्ष पनि किसानले हिउँदेबाली लगाउन आवश्यक पर्ने रासायनिक मल पाउन नसकेका हुन्।

 

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा मौज्दात सकिएपछि यस क्षेत्रमा मल अभाव भएको हो। सुदूरपश्चिम प्रदेशमा सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी यी दुई कम्पनीले पाएका छन्। यहाँका पहाडी जिल्लामा मल अभाव सिर्जना भएको छ। मल अभाव हुँदा यस वर्ष तोरी र गहुँको उत्पादन घट्ने डोटीका स्थानीय चक्र धामीले बताए।

 

किसानको आवश्यकताअनुसार मल आपूर्ति हुननसकेको कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले स्वीकार गरे। सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यकता पर्ने भए पनि करिब २० हजार मेट्रिक टन मात्रै मल पुग्ने गरेको क्षेत्रीय प्रबन्धक पाण्डेयले बताए।

 

‘आवश्यकताअनुसार मल आपूर्तिका लागि सरकारी पक्षबाट पहल नहुँदा समस्या आएको हो, हाम्रो गल्ती छैन’, साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक प्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयले ३० प्रतिशत रासायनिक मल वितरण गरिसकेको जानकारी दिए। कृषकको सहजताका लागि २०७० सालदेखि कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो।

 

गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालक दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन्। कार्यालयले सबै स्थानीय तहमा पुर्‍याउने उद्देश्यका साथ मल वितरण गरिरहे पनि गोदाममै नभएपछि उनीहरु अलमलमा परेका छन्। दैनिक सहकारीमा धाएर किसान हैरान भएपछि सहकारी सञ्चालक पनि मल लिनका लागि कृषि सामग्री कम्पनीमा पुग्न थालेका छन्। किसानको मागको आधा पनि मल नपुग्दा किसान समस्यामा परेको उनीहरू बताउँछन्।रासस