निर्मलाको हत्या स्वीकारेका प्रदीप र विशालको पनि डिएनए मिलेन

काठमाडौं , पुस ०३ ।   कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको छ। स्रोतका अनुसार निर्मलाको शरीरबाट निकालिएको ‘स्वाब’सँग उनीहरुको डीएनए नमिलेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो सिआइबी को टोलीले प्रदीपलाई मंसिर २० गते काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ मा कञ्चनपुरबाट काठमाडौं ल्याइएको थियो। स्रोतका अनुसार मंगलबार र बुधबारसम्म जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा प्रदीप र विशालको डीएनए रिपोर्ट खोल्ने तयारी छ ।

 

निर्मला हत्या अनुसन्धानका क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरिएको थियो। प्रहरीसँगको बयानमा भने प्रदीप र विशालले निर्मलाको हत्या स्वीकार गरेका प्रहरीले बताउँदै आएको छ। तर, निर्मलाको हत्या भएको दिनमा उनीहरु कुखुरा चोरेको आरोपमा प्रहरी हिरासतमा रहेको तथ्य फेला परेपछि प्रहरी अनुसन्धानमाथि नै आशंका उत्पन्न भएको छ।

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला प्रकरणमा अनुसन्धानको दायरा साँघुरिएको यसअघि नै बताइसकेका छन्। अझ रक्षामन्त्री ईश्वर पोखरेलले त निर्मलाका हत्या अभियुक्त पक्राउ परिसकेको भन्दै चाँडै सार्वजनिक गर्ने अभिव्यक्ति नै दिए। निर्मलाको बलात्कार र हत्याबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले अझै हत्याराबारे गतिलो प्रमाण फेला पार्न सकेको छैन। पछिल्लो समय निर्मला काण्ड चित्त बुझ्दो प्रमाण फेला पारेको छैन् ।

 

निर्मला पन्तको बलात्कार हत्यामा प्रमाण मेट्न मुख्य भूमिका खेलेको भन्दै बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी प्रमुख इन्सपेक्टर जगदीश भट्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ। घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषलाई कडा यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै निर्मलाकी आमा दुर्गादेवी र दिलीप विष्टका दाइ खड्ग विष्टले बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट, प्रहरी इन्स्पेक्टर जगदीश भट्ट र निलम्बनमा रहेका डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठीलगायतका प्रमाण नष्ट गर्न सहयोग गर्ने सबै प्रहरीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका हुन् ।

 

खड्ग विष्टले आफ्नो निर्दोष भाइ दिलीपलाई यातना दिइएको भन्दै यातना दिनेविरुद्ध जाहेरी दिएका हुन्। कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले प्रहरीमा किटानी जाहेरी आएको पुष्टि गर्दै अध्ययन भइरहेको बताए। उनले भने, ‘जाहेरी लिएर केही मानवअधिकारवादी सहित निर्मलाकी आमा आउनुभएको छ, अहिले हामी छलफलमै छौं।

 

जाहेरीपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु पक्राउ पर्नसक्ने सम्भावना छ। एक प्रहरी अधिकारीका अनुसार निर्मलाकी आमाले दिएको उजुरी कानुनको परिधिभित्र पाइए जिल्ला सरकारी वकिल कार्यालयको आदेशबाट अनुसन्धानका लागि ति प्रहरी अधिकारीहरु पक्राउ पर्ने सक्नेछन्। सोमबारमात्रै तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्वले अनुसन्धानमा चरम लापरवाही गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको टोलीले बुझाएको प्रतिवेदनमा उल्लेख छ।