विद्यार्थी पढाउँदै साइबर अपराधका विषयमा प्रहरी

जाजरकोट, पुस ४ । लागुपदार्थ प्रयोग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ ।समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

 

कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विषयमा उमेर अनुसारको पाठ्यक्रम बनाइ शिक्षित गराइएको सिंहले जानकारी गराउनुभयो ।

 

“जिल्लाका सबै विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण शुरु गरिएको छ”, उपरीक्षक सिंहले भन्नुभयो, “विद्यार्थीहरुलाई सचेतना जगाउने कार्य जिल्ला प्रहरी कार्यालयका प्रमुख र अधिकृत प्रहरीले सहजीकरण गरिएको छ ।”

 

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरी उपरीक्षक सिंंहको भनाइ छ ।

 

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुव्र्यसन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताउनुभयो ।

 

उहाँले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने त्रिभुवन माध्यमिक विद्यालय कक्षा– ८ की छात्रा लक्ष्मी खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन्, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।”

 

प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको उपरीक्षक सिंहले बताउनुभयो ।

दरबन्दी अभावले समस्य उत्पन्न

जिल्ला प्रहरी कार्यालय र यसको मताहातमा रहेका चार ठाउँका प्रहरी कार्यालयमा दरबन्दी अनुसारको प्रहरी प्रमुख नहुँदा काम गर्न समस्या भएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । दल्ली, बारेकोट र गर्खाकोटमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि लामो समयदेखि खाली रहेको छ ।

 

त्यस्तै सदरमुकामस्थित जिल्ला कार्यालयमा समेत एकजना प्रहरी निरीक्षकको दरबन्दी खाली रहेको उहाँले जानकारी दिनुभयो । दरबन्दी अनुसारको अधिकृत नहुँदा दैनिक काम गर्न असहज भएको छ ।

 

दरबन्दी अनुसारका प्रहरी नहुँदा काम कारवाही अगाडि बढाउन समस्या सिर्जना भएको उहाँले जानकारी दिनुभयो । जिल्लाका सबै ठाउँमा एकै समयमा विद्यार्थीलाई विकृति, विसङ्गतिका विरुद्धमा प्रशिक्षणमुलक कक्षा सञ्चालन गर्न खोजे पनि कर्मचारीको अभावमा ढिला भइरहेको उहाँको भनाइ छ । रासस