नेकपाका सम्पर्कविहीन नेता भण्डारी भारत पुगेको जानकारी


भद्रपुर,पुस ६ ।प्रहरीले बिहिबार बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी क्यामेराले रेकर्ड गरेको हो ।

 

‘एक जना मानिस छेउमा देखिएका छन्’, प्रहरी प्रवक्ता श्रेष्ठले भने, ‘बुधबार बिहान ९ः२५ बजे उनि काँकरभिट्टाबाट भारततिर जाँदै गरेको र १५ मिनेटपश्चात भारतीय नाका पानीट्याङ्कीमा पुगेको सिसी क्यामेरामा देखिएको छ ।’

 

खोजीमा जुटेको प्रहरीले काँकरभिट्टा र पानीट्याङ्की नाकामा राखिएको सिसी टिभीको फुटेज अध्ययन गरेर उनि बुधबार बिहान भारततिर पुगेको पत्ता लगाएको हो । उनि चढेको रिक्सामा अर्को एक व्यक्तिसमेत सवार रहेको र ती व्यक्ति को हुन् भन्ने पहिचान गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । भारतको पानीट्याङ्कीबाट उनि कता पुगे भन्ने प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

 

भारततिर लागेको प्रमाण फेला परे पनि यो समाचार तयार पार्दासम्ममा ४९ वर्षीय नेता भण्डारी कसैको सम्पर्कमा आएका छैनन् । उनि बुधबार बिहान ९ बजेतिर घरबाटै सम्पर्कविहीन भएका थिए । उनले नियमित रुपमा प्रयोग गर्दै आएको मोबाइल फोन र मोटरसाइकल भने घरमै रहेको छ ।

 

‘हामी भारततिरको प्रहरीको सहयोगमा सबै कुरा बुझ्दैछौँ, खोज्दैछौँ’, जिल्लाका प्रहरी प्रवक्ता श्रेष्ठले बताए । प्रहरीले नेता भण्डारीले घरमा छाडेका दुवै मोबाइल फोन साथमा लिएर कलडिटेल लिएको छ भने एक महीना अघिदेखि धेरै मात्रामा आउने फोन कलको निगरानी र अध्ययन गरिरहेको जनाएको छ ।