मनाङकाे तापक्रम माइनस १४ डिग्री, चिसोले खोला जम्यो

काठमाडौ, पुस ८ । जंगलमा लागेको आगो हेर्न शनिबार बिहान ९ बजेतिर हिँडेका सशस्त्र प्रहरी ३२ नं। गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै रोकिए ।

 

मर्स्याङ्दी नदी पारिपट्टिको ठाडोखोला जमेको देखेपछि उनी दंग परे। खोला बगेको डोब हेर्दै मर्स्याङ्दी किनारसम्म आँखा डुलाउँदा मर्स्याङ्दी छेउछाउसमेत उनले जमेको देखे। उनीसँगै अन्य प्रहरी अधिकृत तथा जवानसमेत गएर बग्दाबग्दै जमेको छहरा र पानीलाई नजिकबाट नियाले। ‘बग्दाबग्दैको पानी जमेको त पहिलो पटक देखें,’ उनले भने, ‘भरिएको पानी, बाटोको पानी तथा शीत भोलिपल्ट जमेको त देखेकै हो। झर्दाझर्दैको पानी जमेको देखेर पो अनौठो लाग्यो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

 

अत्याधिक चिसोका कारण जमेको पानी बिहान १० बजेसम्म पनि माथिबाट बग्न सकेको थिएन। भित्रभित्रै केही बगिरहेको थियो। बाहिरबाट हेर्दा सबै जमेको। मैले चाख लागेर फोटो पनि लिएँ,’ पानीले खोतलेर बनाएको पोखरीको पानी जमेकाले मान्छे डुब्ने पोखरीमा जुत्ताचप्पल लगाएर हिँड्न र उभिन सकिने उनले बताए। माथिल्लो मनाङस्थित मनाङ सामुदायिक लघु जलविद्युत् आयोजनाको ट्यांकी चिसोका कारण पुरै बरफले भरिएको थियो।

 

स्थानीय मुखिया गोतामे स्नोमङकी का अनुसार समितिका सदस्य तथा स्थानीयलाई बरफ फाल्न शनिबार बिहानभर लाग्यो। ‘पाइपबाट आएको पानी ट्यांकीमा जमेको रहेछ। हामीले गल–बेल्चाको सहयोगले फाल्यौं’ उनले भने। मनाङमा अहिले घरभित्रबाहेक खानेपानीसमेत पाउन मुस्किल छ। बरफ पगालेर खानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार वरपरका स–साना पानीका स्रोत सबै जमेका छन्। चिसोका कारण जनजीवन कष्टकर भइरहेका बेला पानीका स्रोतसमेत जमेपछि थप समयस्या भएको छ।

 

सामान्यतस् शून्य डिग्रीमा पानी जम्ने भए पनि बग्दै गरेको पानी अत्यधिक चिसो भएमात्रै जम्ने गर्छ। मनाङको तापक्रम रातिको समय माइनस १४ सम्म पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए।