पुस १५ गते र माघ १ गते सार्वजनिक बिदा !

काठमाडौ, पुस १० । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको ४९ औं बैठकले गुरुङहरूको पर्व तमु ल्होसार र थारु जातिको पर्व माघीमा बिदा दिने निर्णय गरेको हो।

 

तमु ल्होसारको अवसरमा पुस १५ गते र माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय पारित भएको मेयर घनश्याम पाण्डेले बताए। संघीयता कार्यान्वयन भएपछि स्थानीय तहले यसरी पहिलो पटक आफैं सार्वजनिक बिदा दिने निर्णय पारित गरेको मेयर पाण्डेले जानकारी दिए।

 

त्यस्तै, नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले नगर स्वास्थ्य नीति २०७५, नगर स्वास्थ्य ऐन २०७५, अपांग परिचय पत्रसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यपालिका बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीलाई समायोजन गर्ने निर्णय पारित गरेको छ। कार्यपालिका बैठकले शिक्षा बजेट समेत पारित गरेको मेयर पाण्डेले जानकारी दिए ।